Loading... आजः २०८१, ३० फाल्गुन शुक्रबार

भगवतीमाई गाउँपालिकाको रणनिती ‘स्वरोजगारमुखी’

दैलेखको पूर्वी भागमा पर्ने भगवतीमाई गाउँपालिकाले स्थानीयस्तरमै विभिन्न खालका स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गरी युवाहरुलाई रोजगारीमा जोड्न थालेको छ ।

कोरोना भाइरसका कारण रोजगारी गुमाई गाउँ भित्रिएका र गाउँमै भएका बेरोजगार युवाहरुलाई रोजागारीमा समेट्ने उद्देश्यका साथ स्वरोजगारमुखी रणनीति नै अपनाउन थालेको हो ।

‘युवालाई श्रममा जोडन सके ‘गाउँको पैँसा गाउँमै’ रहने भएकाले पालिकाका हरेक गतिवधिलाई रोजगारसँग जोडेर उत्पादनका गतिविधिलाई प्राथमिकतामा राखिएको पालिकाले बताएको छ ।

प्रायः स्थानीय सरकारले विकासको नाममा डोजरको प्रयोग गरेर जथाभावि हान्दा विकासको नाममा विनास भइरहेको छ । तर, भगवतीमाई गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा ‘श्रम रोजागर बैंक’ स्थापना गरेर ७ ओटै वडाका १४० जना युवाहरुलाई समावेस गरेको थियो । ‘जसमा महिला र पुरुषहरु समान तरिकाले समावेस भएका छन् ।’ यस्तै पालिकाले अन्य स्वरोजगारमुखी अभियान समेत थालेर उदारणीय काम गरेको छ ।

बीमा सहितको रोजागारी पाएपछि ढुक्क  
गाउँपालिकाले ‘श्रम रोजगार बैँक’ मार्फत मजदूरहरुको बीमा सहितको रोजागरीको व्यवस्थापन गरिदिएपछि स्थानीय दंग छन् । ‘साँच्चै सिंहदरबारको अनुभुति हामीले अहिले पाउँदैछौँ,’ वडा नं.–४ तुर्सुकी स्थानीय चन्द्रा अधिकारीले भनिन् । अहिले पालिकाले बीमा सहितको रोजगारी दिएपछि श्रीमानको भरमा पर्नु नपरेको उनले बताइन् ।’

‘महिलाहरु घरभत्रिको काम मात्र निर्भर रहने भएकाले महिला पुरुषको कमाईमा भर पर्नु पथ्र्यो,’ उनले भनिन्,‘ बिहान घरको काम गरेर दिनमा रोजगारी पाएका छौँ’ यहाँ भन्दा ठूलो हामिलाई के हुन्छ र ?

वडा नं.–४ मन्घरका मदन विक पहिला रोजगारीका लागि कालापहाड जान्थे, ‘जब पालिकाले श्रम रोजगार कार्यक्रम ल्यायो । उनीपनि कार्यक्रममा समावेस भए । उनले भने, ‘हाम्रा लागि त शौभाग्य भन्नुपर्छ । कालापहाड जाँदा वर्षको एकचोटी दशैँतिहारमा घर आईँन्थ्यो, ‘अहिले परिवारसँगै रमाउन, अनि कमाउन पाएइको छ ।’

गाउँपालिका अध्यक्ष दानबहादुर थापाले प्रति व्यक्तिको १० लाखका दरले बीमा गरिएको बताए ।’ बीमा सहितको व्यवस्थापन भएपछि उनीहरुले कार्यविधिमा रहेर स्टमेट अनुसार काम गर्छन् । गएको वर्ष २ करोड बराबरको विभिन्न योजनाहरुको कामको प्रगति राम्रो भएको अध्यक्ष थापाले बताए  । मजदूरले प्रति दिनको ज्याला रू. ६१० पाउँछन् ।

श्रमरोजगार कार्यक्रम सञ्चालन गर्नका लागि यो गाउँपालिकाले कालिकोटको रास्कोट नगरपालिकाबाट कार्यविधि ल्यायर सोही अनुसार अघि बढाएको हो ।

गतवर्ष प्रभावकारी बनेपछि स्थानीयले कार्यक्रमलाई निरन्तरता दिने माग गरिएकाले श्रम रोजगार कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाउनेछ ।

उपभोक्ता समिति मार्फत विकासे योजनाका काम भएपछि ‘हतपतमा लतपत’ गरेजस्तो गर्ने र त्यो विकास दिगो नटिक्ने भएकाले यो कार्यक्रम मार्फत कार्यविधिमा रहेर ‘क्वालिटी’ अनुसार काम गर्नुपर्ने हुन्छ ।

योजनाका आधारमा जनशक्ति थप्ने तयारी 
चालू आवमा यही कार्यक्रममा योजनाका आधारमा जनशक्ति थप्ने तयारी गाउँपालिकाले गरेको छ । छनोट भएका योजनाहरुको आधारमा कार्यक्रमलाई अघि बढाईने अध्यक्ष थापाले बताए ।
यो कार्यक्रममा २० भन्दा धेरै योजना पर्न सक्छन्,’ उनले भने, ‘श्रम रोजगार कार्यक्रमका लागि मात्रै ३ करोड भन्दा धेरै बजेट विनियोजन गरीएको छ ।’

आम्दानीको स्रोत बढाउन एक कृषक ५० बाख्रापालन अभियान 
पालिकाका कृषकहरुको आम्दानीको स्रोत बढाउनका लागि १ कृषक ५० बाख्रापालन अभियान समेत लागू गरेको छ  ।

प्रदेश सरकारसँगको सहकार्यमा सरकारी बाख्रा स्रोत केन्द्रको समेत स्थापना भइरहेको छ । त्यो खोरमा २०० बाख्रा हाल्छौँ,’ गाउँपालिका अध्यक्ष थापाले भने,‘ ५० जना कृषकहरुको समूह बनाएका छौँ ।

प्रत्येक कृषकलाई १ लाख अनुदानमा खोर निर्माण गर्न लगाइएको छ  । उनीहरुलाई घाँस काट्ने मेसिन दिईएको छ भने, ‘बीमा पनि गरिदिने योजना छ ।’

स्रोत केन्द्रमा पनि रहने र उनीहरुको बाख्रा धेरै भएपछि केन्द्रमा ल्याएर बाहीर विक्री गर्न सकिन्छ । यो कार्यक्रमका लागि चालू आवमा १ करोड रकम विनियोजन छ ।
भगवतीमाई गाउँपालिकाले जस्तै अरु स्थानीयतहले पनि यस्ता खालका गतिविधलाई प्राथमिकता दिनुपर्ने जिल्लाका सरोकारवाला बताउँछन् ।