Loading... आजः २०८१, २९ भाद्र शनिबार

विकास र समृद्धिको नारा

मुलुकमा दशकौ लामो राजनीतिक आन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । निकै ठूलो संघर्ष, त्याग र बलिदानबाट देशमा पहिलो पटक संविधानसभाको निर्वाचन भयो । संविधान लेखियो । नेपालको संविधान–२०७२ घोषणा भयो । संविधान जारी भएसँगै नेपालको राजनीतिक स्थायित्व र समृद्धि पहिलो सर्त थियो ।

लामो समयदेखि समस्याका रूपमा रहेको राजनीतिक अस्थिरता समाप्त भयो भनेर खुबै चर्चा भयो । एक हिसाबले आम नेपाली नागरिक खुसी थिए । तर, नेपाली नागरिकहरुको त्यो खुसी लामो समय टिक्न सकेन् । अहिले आएर यस मुलुकको नियतिमै स्थायित्व छैन कि भन्ने विश्लेषण हुन थालेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ निकटको बुहमतको प्रतिनिधिसभालाई भंग गरेर अस्थिरता निम्त्याको भन्दै नेकपाकै एक समुह आन्दोलनमा उत्रिएको छ । विगतमा शासन व्यवस्था छिटो–छिटो परिवर्तन भयो तर जनताको जीवनस्तरमा भने खासै ठूलो परिवर्तन ल्याउन सकेन । राजनीतिक अस्थिरता मूल कारण बन्यो ।

यद्यपि हरेक व्यवस्थामा देश र जनताको नारा लाग्दै आयो । तर, व्यवहारमा भने देश र जनताप्रतिको दायित्व बोध राजनीतिक नेतृत्वले गहनरूपमा बहन गर्न सकेन । मुलुकले यतिबेला तीव्र विकास चाहिरहेको छ । मुलुकको विकास र आर्थिक समृद्धिबाट नागरिकको जीवनस्तर उठाउने परिकल्पनाका साथ सरकारले तय गरेको समृद्ध नेपाल सुखी नेपालीको नाराले आम नेपालीमा सुखी जीवनको उत्कट चाहना जगाएको छ । दुई तिहाइको बहुमत प्राप्त सरकारबाट समृद्धिको सपना देख्नु स्वाभाविकै पनि हो । तर, त्यसैले विकास र समृद्धिका कामले नागरिकमा उत्साह ल्याउनुपर्ने बेलामा दुई वर्ष अवधि बाँकी हुँदै सत्तारूढ दल नेकपाभित्र देखिएको किचलोका कारण सरकारले संसद् नै विघटन गर्ने निर्णय ग¥यो ।

अहिले सरकारले नै देखाएको समृद्धि नेपालको सपना केवल सपना मात्र बन्न पुगेको छ । काम गर्नका लागि तीन वर्ष भनेको निकै ठूलो समय हो । दुई तिहाइ मत प्राप्त सरकारले दूरगामी महत्व राख्ने काम गर्न सक्थ्यो । तर, सत्ताको छिनाझम्टीमै नेकपा रुमलियो । संसद् विघटन भएसँगै नेकपा विभाजित हुन पुगेको छ ।

साथै नेकपाले देखाएको समृद्धिको सपनाको अध्याय पनि समाप्त भएको छ । यद्धपी असहज बनेको नेकपा भित्रैका नेता बीचको सम्बन्ध समृद्ध नेपाल सुखी नेपालीको यात्रामा समाहित हुनका लागि उपयुक्त बाटोको खोजी हुनुपर्छ । त्यसतर्फ पहल गर्नैपर्छ । विकास र समृद्धिको यात्रामा एकता, सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्छ ।