Loading... आजः २०८१, ३० भाद्र आईतवार

भ्रष्टाचार नियन्त्रण

सार्वजनिक ओहोदामा रहने लगभग सबैले गर्ने तर गरेको छु भन्न कसैले पनि नचाहने कर्म हो भ्रष्टाचार । व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु पनि भ्रष्टाचार हो । भ्रष्टाचार नेपाली समाजका लागि रोग बनेको छ । सरकारी संयन्त्रको धमिरा बनेको छ । सभ्य समाजको लागि प्रदूषण बनेको छ ।

यसले व्यक्तिको स्वभाव र शैलीलाई नकारात्मक बनाएको छ । भ्रष्टाचार एउटा जटिल सामाजिक राजनीतिक र आर्थिक समस्या हो । अर्कोतर्फ भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनको शासन तथा विश्वकै अर्थतन्त्रलाई धराशयी बनाउँछ । यसले समाज, देश मात्र नभएर सम्पूर्ण विश्वलाई नै आक्रान्त बनाएको छ ।

हालै सार्वजनिक भएको एक तथ्यांकले नेपालमा भ्रष्टाचार वृद्धि भएको र सुशासनमा चार स्थान तल झरेको पाईएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको रिपोर्ट सार्वजनिक गरेको हो । सुशासनमा ५० भन्दा कम अंक ल्याउने देशलाई भ्रष्टाचारग्रस्त भनिन्छ । सार्वजनिक रिपोर्ट अनुसार नेपालले ३३ अंक मात्रै ल्याएको छ । अघिल्लो वर्ष नेपालले ३४ अंक पाएको थियो । सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) सार्वजनिक गर्दै ट्रान्सपरेन्सीले सुशासनमा नेपाल एक सय १३ बाट एक सय १७ औँ स्थानमा खस्किएको उल्लेख गरेको छ ।

भ्रष्टाचार नियन्त्रणको प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु र व्यवसायमा घुसखोरी कायमै हुनुले पनि नेपाल झन् पछि परेको प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले व्यक्तिगत स्वार्थका लागि पदको दुरुपयोग गरेकाले नेपालको स्थान खस्किएको हो ।

अर्कोतर्फ सरकारको भ्रष्टाचारविरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार–व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनुजस्ता समस्या कायमै रहेको छ । यसले देशको अर्बुद रोग बनेको भ्रष्टाचार दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । अब भ्रष्टाचार नियन्त्रण मुलुकको चासो, समस्या र सरोकार रहेको विषय बन्नुपर्छ ।

गर्छु कसैले नभन्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म बनेको भ्रष्टाचारलाई अविलम्ब नियन्त्रण गर्नमा सरकार र सरोकारवाला निकायको बेलैमा ध्यान जानुपर्छ । तीनै तहको सरकार, नागरिक समाज, सञ्चार माध्यम, सामाजिक संघ संस्था एवम निकायको विचमा भ्रष्टाचर विरुद्ध एकिकृत र समन्वयात्मक प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छ ।