Loading... आजः २०८१, २९ भाद्र शनिबार

लैङ्गिक समानता

प्रत्येक वर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । यो दिवस विश्वका अधिकांश देशहरुमा मनाउने गरिन्छ । नेपालले पनि मंगलवार यो दिवस मनाईएको छ । संघीय, प्रदेश र स्थानीय तहमा भिन्न भिन्न कार्यक्रम गरी दिवस मनाईरहँदा यो दिवसको समान कामका लागि समान ज्याला, मताधिकार, श्रमिकका शिशुको कार्यसमय निर्धारण, सामान्य मानव अधिकारको अभ्यास गर्न पाउनु पर्नेजस्ता आधारभूत मागसँग इतिहास जोडिएको छ । लैङ्गिक समानताले समाज तथा राष्ट्रको विकास हुन्छ भन्ने मान्यताले ओतप्रोत विश्व महिला आन्दोलनको प्रतीकात्मक सार यो दिवसले बोकेको छ । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकाले महिला अधिकारका लागि सो संस्थाद्वारा तय गरिएका महिलाविरुद्ध हुने सबै प्रकारका विभेदविरुद्धको अन्तर्राष्ट्रिय सन्धि लगायतका विभिन्न प्रतिबद्धता, कार्यक्रम, नीति तथा प्राथमिकतालाई नेपालले राष्ट्रिय महत्व दिँदै आएको छ ।
मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनापछि महिला अधिकारका मुद्धाले नेपाली राजनीति प्रभावित मात्र रहेन, निर्देशित पनि छ । नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलन तथा उपलब्धिमा महिलाको ऐतिहासिक र गौरवपूर्ण सहभागिता रहँदै आएको छ । नेपालको संविधानले समेत सबै प्रकारका लैङ्गिक विभेदको अन्त्य समेत गरेको छ । संविधानले समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव नगरिने प्रत्याभूत गरेको छ । पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव विना सबै सन्तानको समान हक प्रदान गरिएको छ । प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक प्रदान गर्दै सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ ।
अर्कोतर्फ समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका सबै निकायमा महिलाको सहभागिता संविधानतः सुरक्षित गरिएको छ । समग्रमा नेपालले कानुनतः महिला अधिकारको सवाललार्य प्रतिबद्धता व्यक्त गरेको छ । यद्धपी ती प्रतिबद्धताको कार्यान्वयनमा केहि समस्याहरु पनि देखिएका छन् । महिला हिंसाका विभिन्न स्वरूपहरु नेपाली समाजमा आज पनि देखिन्छन् । महिलालाई देवी देवता भनेर पूजा गर्ने नेपाली समाजमा देखिएका महिला हिंसाका निकृष्ट स्वरूपले नेपाली महिलाको अस्मिता नै धुमिल हुनसक्ने देखिन्छ । यसर्थ, महिला अधिकारलाई कानुनी उपचारले मात्र स्थापित गर्न नसकिएको वर्तमान परिप्रेक्ष्यमा महिला अधिकारलाई प्रभावकारी कार्यान्वयनका लागि सामाजिक उपचारहरु समेत अवलम्बन गर्नुपर्ने देखिन्छ ।