असार १५ अर्थात धान दिवस मनाइरहँदा
आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यस वर्ष पनि १८औँ राष्ट्रिय धान तथा रोपाइँ महोत्सवको आयोजना गरिएको छ । गत वर्षजस्तै यस वर्ष पनि कोरोना सुरक्षा मापदण्ड अपनाउँदै रोपाइँ महोत्सव आयोजना गरिने कृषि विभागले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कृषिप्रधान देश भनेर चिनिएको हाम्रो देशमा हरेक वर्ष असार १५ लाई धानदिवसको रूपमा मनाउने गरिन्छ । सरकारले यो दिवसलाई विविध कार्यक्रमसहित देशका सबै जिल्लामा मनाउँदैछ । उसो त असार १५ लाई नेपालमा कृषकहरूले विशेष दिन ‘असार पन्ध्र’को रुपमा मनाउँदै आएका छन् । कृषि क्षेत्रको प्रबद्र्धन तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ०६० सालदेखि हरेक वर्ष असार १५ लाई धान दिवसको रूपमा मनाउँदै आएको हो ।
धान हाम्रो प्रमुख खाद्य बाली हो । नेपालमा सबैभन्दा धेरै खेती गरिने बालीका रूपमा धान पहिलो स्थानमा पर्छ । राष्ट्रको कूल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाइँले ठूलो महत्व राख्छ । कृषिप्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसैअनुसार प्रभाव पार्ने भएकाले रोपाइँको ठूलो महत्व रहिआएको हो ।
खेतीका लागि उपयुक्त मौसम सुरु भएको दिन असार १५ लाई रोपाइँ सुरु भएको दिनको रूपमा दही चिउरा खाएर मनाउने हाम्रो परम्परा रही आएको छ । रोपाइँ गरी दही चिउरा खानाले शरीरमा स्फूर्ति उत्पन्न हुने जनविश्वासमा खेतीपाती नहुनेले पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छ्यापाछ्याप गरी रमाइलो गर्ने गर्दछन् । पछिल्लो समय पर्यटकहरूलाई पनि यो अवसरमा संलग्न गराउने थालिएको छ । पोखरा, चितवन लगायतका स्थानमा विशेष समारोहको आयोजना गरी धान दिवस मनाउँदै रमाइलो गर्ने चलन बढ्दै गएको छ । काठमाडौं उपत्यकामा पनि धान रोप्ने नजिकका स्थानहरूमा पुगेर युवायुवतीले रमाइलो गर्ने गरेका छन् । तर, यस्ता विशेष समारोहलाई कोरोना संक्रमणले रोकिदिएको छ ।
सिँचाइ सुविधा सबै ठाउँमा उपलब्ध नभएकाले बाँकी क्षेत्र मनसुनमै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धान रोप्न व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाइँ गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाइँमा व्यस्त हुनुपरेको हो । साता–पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्वको हुन्छ । लासलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नुपर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमानदारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरी खाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टि गर्छ ।
हाल धानको बिउ र चामल गरी हरेक वर्ष अर्बौं रुपैयाँको आयात हुँदै आएको छ । पछिल्लो समय खेतिप्रति आकर्षण घट्दै गएको अर्को तीतो यथार्थ छ । गाउँघर युवाविहीन छन्, दैनिक युवाहरू विदेश पलायन भइरहेका छन् । आफ्नै देशमा पसिना बगाउनुपर्ने युवाशक्ति मरुभूमिमा पसिना बगाउन बाध्य छन् यतिबेला । कृषिप्रधान हाम्रो मुलुकमा खाद्यवस्तु आयात हुँदै आएको छ । हाम्रो भान्सामा पाक्ने चामल, तरकारी, दाल, पिठो, माछा, मासु र फलफूल गरी अर्बौंको खाद्यान्न आयात गरिन्छ ।
रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बिउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्रीगणेश गरिन्छ । रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पु¥याउँदै आएको छ । कतै–कतै ठूला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजाबजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रुमाल बाँड्ने पनि प्रचलन छ । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । खेत ग¥हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बिउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।
किसानहरूका लागि एउटा उत्सव पनि हो यो असार १५ । यो वर्ष समय अगावै मनसुन सुरु भएकाले यतिबेला रोपाइँको माचोमाच रहेको छ । चालु आर्थिक वर्षमा नेपालमा १४ लाख ७३ हेक्टर जमिनमा ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः एक प्रतिशत र १ दशमलव ३ प्रतिशतले वृद्धि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ । उक्त उत्पादनले नेपालको माग धान्ने भए पनि उपभोक्तामा खानेबानी परिवर्तनका कारण चामल आयात हुने गरेको मन्त्रालयको भनाइ छ । आगामी दिन धान उत्पादन वृद्धिका कार्यक्रमसँगै उपभोक्तामा खाने बानीको परिवर्तनका लागि पोषणसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सरकारले आगामी पाँच वर्षभित्र नेपाललाई चामल आत्मनिर्भर बनाउने घोषणा गरेको छ । विगत वर्षहरूमा धानमा आत्मनिर्भरको घोषणाको कार्यान्वयन हुन नसकेको भए पनि अहिले मन्त्रालय योजनाबद्ध कार्यक्रमका साथ अघि बढेकाले अब त्यस्तो नहुने बताइन्छ ।
हाल धानको बिउ र चामल गरी हरेक वर्ष अर्बौं रुपैयाँको आयात हुँदै आएको छ । पछिल्लो समय खेतिप्रति आकर्षण घटदै गएको अर्को तीतो यथार्थ छ । गाउँघर युवाविहीन छन्, दैनिक युवाहरू विदेश पलायन भइरहेका छन् । आफ्नै देशमा पसिना बगाउनुपर्ने युवाशक्ति मरुभूमिमा पसिना बगाउन बाध्य छन् यतिबेला । कृषिप्रधान हाम्रो मुलुकमा खाद्यवस्तु आयात हुँदै आएको छ । हाम्रो भान्सामा पाक्ने चामल, तरकारी, दाल, पिठो, माछा, मासु र फलफूल गरी अर्बौंको खाद्यान्न आयात गरिन्छ । यसलाई न्यूनीकरण गर्न र युवाशक्तिलाई देशमै पसिना बगाउन नलगाएसम्म जस्ता दिवस मनाए पनि यी दिवसमै सीमित हुने निश्चित छ । कृषिप्रधान देश जहाँको मुख्य उत्पादन धान, हाम्रो बिहान बेलुकाको खानाका रूपमा भान्सामा आउने चामलमा परनिर्भरताले हामीलाई कहाँ पु¥याउँला । धानलगायत प्रमुख बालीमा आत्मनिर्भरताको अवधारणा अनुुसार नेपाल सरकारले आफ्ना कामहरू गर्न आज धान दिवस मनाइँरहदा जरुरी छ । यसमा प्रविधि, बिउ वीजनलगायत विविध विषयमा ध्यान दिन नसक्दा आयात प्रतिस्थापन हुन नसकेको हाम्रो तीतो यथार्थ हो । साैर्यबाट