अस्पताललाई पैसा तिर्न नसकेपछि सङ्क्रमितको शव बन्धक
पाल्पा- उपचार बापतको पैसा तिर्न नसक्दा एक पुरुषको शवलाई पाल्पाको लुम्बिनी मेडिकल कलेजले बन्धक बनाएको छ। कोरोना सङ्क्रमण भई उपचारका क्रममा लागेको खर्च नतिरेसम्म कलेजले शव नदिएपछि उनको दाहसंस्कार रोकिएको छ।
तानसेन नगरपालिका–९ डाँडाडुमका ५८ वर्षका पुरुषको बुधबार कोरोना सङ्क्रमणपछि उपचारका क्रममा ज्यान गएको थियो। बिरामीको उपचारका लागि एक लाख ७५ हजार खर्च भएको बताइएको छ।
लुम्बिनी मेडिकल कलेजका निर्देशक निर्दोष खनालले २० हजार धरौटी लिएर बीचमा पैसा नमागी उपचार गरेको दाबी गरे। ‘अहिले शव अस्पतालमै छ, तर कहाँ र कसरी आर्थिक जोहो गरेर शव व्यवस्थापन गर्ने आफन्त अलपत्र अवस्थामा छन्,’ उनले भने।
चार दिनदेखि कलेजमै उपचार गराइरहेका पुरुषको उपचार खर्च तिर्न नसकेपछि मृतकका ज्वाई गुहार माग्दै वडा कार्यालय पुगेका थिए। तानसेन-९ का वडाअध्यक्ष हरिहर रेग्मीले मृतकको आर्थिक अवस्था निकै कमजोर भएकोले खर्च मिनाहा गरिदिन अनुरोधसहित सिफारिस दिएको बताए।
मेडिकल कलेजले उपचार खर्च छुट नगरेको बिरामीका आफन्तले बताएपछि तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले अस्पतालसँग समन्वय गरी आफू जमानी बसेको बताए। नगरपालिकाले शव दिन अनुरोध गर्दै बक्यौता रकमको लागि नगरपालिका जमानी रहेको बताएपछि शव दिन मेडिकल कलेज सहमत भएको छ।
‘नगरपालिका जमानी बसेर लुम्बिनी मेडिकल कलेजले शव उठाउन भने पनि आफूहरूसँग शव लैजाने पैसा छैन,’ मृतकका ज्वाई राजु विकले भने, ‘कोसँग गुहार माग्ने ससुराको जग्गा पनि छैन। पैसा पनि छैन। यस्तो अवस्थामा दाहसंस्कारसमेत कसरी गर्ने अलपत्र छौँ।’




