युवकको मृत्यु भएपछि चिकित्सककाे टोली दैलेख हिँड्यो
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहान दैलेख हिँडेको छ । प्रतिष्ठान जुम्लाले चिकित्सकद्वय दिनेश शाही र डा. रोश्निम प्रधान तथा जनस्वास्थ्यविज्ञ त्रय प्रेम पन्त, निशान्त लामा र प्रतिमा लामासहितको टोलीलाई दैलेख खटाएको हो ।
शनिबार दुल्लु नगरपालिका–७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ३५ वर्षीय युवाको कोरोनाले मृत्यु भएपछि तत्काल कोरोना भाइरसको जोखिम बढ्न नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिउ ।
कर्णाली प्रदेश सरकारको समन्वयमा टोली दैलेख पठाइएको उनले बताए । ‘चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली करिब एक महिनाका लागि दैलेख पठाइएको छ’, रजिष्ट्रार काफ्लेले भने, ‘टोलीले त्यहाँको अस्पतालको निर्देशनमा खटाइएको ठाउँमा समुदायस्तरमा पुगेर मेडिकल उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ ।
दैलेख अस्पतालको इमरजेन्सी वार्डमा सिल
दैलेख अस्पतालको इमरजेन्सी वार्ड सिल गरिएको छ।इमरजेन्सी वार्डमा भर्ना गरिएका एक जना २२ वर्षीय पुरुषमा आरडीटी पोजिटिभ देखिएपछि सिल गरिएको हो।ती पुरुष सुगरका बिरामी हुन्।उनले आफु एक वर्ष अघि नै भारतबाट आएको बताएपछि इमरजेन्सी वार्डमा भर्ना गरी उपचार थालिएको तर केहि दिन अघि मात्र भारतबाट आएको र क्वारेन्टाइनबाट भागेको खुलेपछि आरडीटी परीक्षण गरिएको थियो ।
आरडीटी परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि इमरजेन्सी वार्ड सिल गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखको कोभिड १९ फोकल पर्सन थिरप्रसाद रेग्मीले बताए।उनका अनुसार अहिले छुट्टै भवनलाई इमरजेन्सी वार्डको रुपमा प्रयोग गरिएको छ।बिरामीलाई सुर्खेत पठाईएको रेग्मीले बताए।




