दैलेखमा पहिलो पटक संघ, प्रदेश र स्थानीय तहको संयुक्त चक्रिय समन्वय बैठक सम्पन्

दैलेख जिल्लाका संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले पहिलो पटक संयुक्त चक्रिय समन्वय तथा व्यवस्थापन समिति बैठक दुल्लूमा सम्पन्न भएको छ।
दुल्लू नगरपालिकाको सभाहलमा सम्पन्न बैठकमा जिल्लाका चारवटा नगरपालिका र सातवटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य दुल्लू नगरपालिकाका उपप्रमुख बिना कार्कीले राख्नु भएकाे थियो। प्रमुख जिल्ला अधिकारी आनन्द सारूले कार्यक्रमको उद्देश्य र औचित्यमाथि जानकारी गराउनुभएको थियो।
बैठकमा दुल्लू नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पदम बहादुर बुढा क्षेत्रीले विपद व्यवस्थापन सम्बन्धी असल अभ्यास को प्रस्तुति गर्नुभएको थियो। त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय दैलेखका थिर प्रसाद रेग्मीले विपदको समयमा महामारी फैलिन सक्ने सम्भावना रहेकाले सचेतना अपनाउनुपर्नेमा जोड दिँदै कार्यालयको आ.व. ०८२/८३ मा भएका कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका उपसभापति केशव बहादुर शाहीले पनि आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो। नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल प्रसाद शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो भने विभिन्न पालिकाका प्रमुखहरूले पहिलो पटक संयुक्त बैठक आयोजना गरेर निम्तो दिएकोमा दुल्लू नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
बैठकले जिल्लाभित्रका विपद, स्वास्थ्य र विकासका विषयमा तीनै तहबीच नियमित समन्वय र सहकार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
उक्त कार्यक्रम दुल्लू नगरपालिकाका प्रमुख भरत रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो।






