खाद्यन्न लिन गएको बेला प्रहरी द्धारा कुटपिट
अमर सुनार
दैलेख : नारायण नगरपालिका वडा नंं. ६ काँडाचौर नजिक पसलबाट दाल, तरकारी लिएर डेरा तर्फ आएका राष्ट्रिय दलित पत्रकार संघ नेपाल दैलेख शाखाका उपाध्यक्ष टोपबहादुर सुनारलाई गस्तीमा गएको प्रहरीले सोमवार लाठी चार्ज गरेर दाल पोखिदिनुसंगै निर्घात कुटपिट गरेको छ ।
सदरमुकामको त्रिभुवन मावि दैलेखको आडैमा मोवाइल मर्मत गर्ने पसल समेत गरी बसेका सुनार लकडाउनले पसल बन्द गर्नुपरेपछि आर्थिक समस्या भोगिरहेको बेला ऋण गरेर छाक टार्न परेका बेलामा प्रहरीले लाठी चार्ज गरी खाद्य बस्तु पोखिदिएको पीडितले बताए ।
घटनाबारे जिल्ला प्रहरी कार्यालयमा उजूरी गरेको भए पनि प्रहरीले वास्ता नगरेको पीडितले सुनारले असन्तुष्टी जनाएका छन् । सुरक्षा निकायले चासो नदिएपछि पीडितले राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, इन्सेक लगायतका नागरिक समाज संस्थामा उजूरी दिएका छन् ।
कुटपिट गर्ने प्रहरीको परिचय खुलेको छैन । कारवाही प्रक्रियामा ढिलाई भएको विषयमा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी हरीबहादुर ओलीलाई सोध्दा अनुसन्धान भइरहेको बताए ।




