Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

वनको रकममा वडाध्यक्ष र सचिवद्वारा हिनामिना

दैलेख : चामुण्डाविन्द्रासैनी नगरपालिका –६ का वडाअध्यक्ष र सचिवको मिलेमत्तोमा वन उपभोक्ता समितिको रकममा अनियतिता भएको छ । नगरपालिकाले नगरलाई हरियाली वनाउने उद्देश्यले ६ नम्बर वडाका वनका लागि विनियोजन बजेट वडाअध्यक्षले बखतबहादुर बोहोरा र वडासचिव लक्ष्मी विष्टले अनियमितता गरेको तथ्य खुलेको हो ।

एक वन एक जनप्रतिनिधी कार्यक्रम अन्र्तगत सोही वडामा आर्थिक बर्ष ०७५/०७६ मा वनपाले र वन सुधारका लागि १ लाख रकम विनियोजन गरिएको थियो । वडामा रहेका ५ वटा वनउपभोक्ता समितिबाट प्रतिनिधी रहने गरि गठित मुल सामुदायिक वनउपभोक्ता समितिलाई जानकारी नदिई वडाअध्यक्ष र सचिवले मिलेमत्तोमा इदुपानी वनउपभोक्ता समितिको खातामा रकम पठाई झिकेको र हालसम्म कुनै पनि वनपाले पारिश्रमिक पाएका छैनन् । इदुपानी वनउपभोक्ता समितिमा वडाअध्यक्ष र सचिवका नातागोता पर्ने मान्छे भएकोले पैसा निकाल्न सजिलो हुने हुँदा मुल समितिलाई वेवास्ता गरी गरेको मुल समितिका अध्यक्ष केशब बहादुर बोहराले बताए । उनले भने, ‘वडाअध्यक्ष गएको दशैमा पैसा निकाल्नु भएको हो । अहिलेसम्म वनपाले कसैले पनि पैसा पाएका छैनन् ।’ मुल समितिलाई जानकारी नदिई इदुपानीमा रकम जम्मा गर्नु नै त्यहाँका वनउपभोक्ता समिति वडाअध्यक्ष र वडासचिवको मिलेमत्तो भएको हुनसक्ने आरोप लगाए ।

चामुण्डाविन्द्रासैनी नगरपालिकामा ७ वटा सामुदायिक वन छन् । कालेखाँडा र वउरा सामुदायिक समितिमा वन उपभोक्ता समिति गठन गरिएको छैन । वनपाले पनि छैनन् । दुब्ले र छड्काँया वनमा उठेको राजस्व बाटै वनपाले र वृक्षारोपण गर्न सकिन्छ । तर तिल्यात्रा सामुदायिक वन,भोटे पोखरी,इदुपानीमा वनपाले राख्ने, वृक्षारोपण, काँटछाट गर्नुपर्ने हो । ती वनका लागि नगरपालिकाले विनियोजन गरेको पैसा वडाअध्यक्ष र सचिवले हिनामिना गरेकाले नगरपालिकाले ल्याएको नारा अधुरै रहने स्थानीयबासी उपेन्द्र बोहराले बताए ।

वनपाले र वनसंरक्षणको लागि आएको पैसा नेता र कर्मचारी मिलेर खान्छन् । कहाँ हरियाली नगर होला,बरु भ्रष्टाचार नगर भन्नुपर्छ,अर्का उपभोक्ता भद्रबहादुर बुढाले आक्रोश पोखे । हाम्रा काम लिएर नगरमा गएको बेला यो त्यो कागजपत्र मिलेन भनेर काम गरिदिदैनन् । जनताको वनसंरक्षण र वनहेरालुको लागि छुटयाइएको रकम कसरी मिल्यो । नेता कर्मचारीको मिलेमत्तोमै बदमासी भएको हो ।

तर वडाअध्यक्ष बखतबहादुर बोहोरा भने,आफुले रकम हिनामिना नगरेको बताउँछन् । मुल वनउपभोक्ता समितिको तत्काल खाता नहुँदा हामीले इदुपानीको वन उपभोक्ता समितिको खातामा पैसा हालेका हौं । ५ हजार लेखापरिक्षण १ हजार कन्टिजेन्सी काटेर ९४ हजार बैंकबाट निकालिएको स्वीकार गरे ।

‘वनपाले कसैले पनि नागरिकता ल्याउ भन्दा ल्याएनन् । पैसा मसँगै छ । उहाँहरुले नागरिकताको प्रतिलिपी ल्याएपछि पाउनुहुन्छ । काम गरेर मात्र पैसा दिने हो । काम नगरी कसरी पैसा दिने ?’, उनले भने । तर मुल सामुदायिक वनउपभोक्ता समितिका अध्यक्ष केशबहादुर बोहोरा भने, ‘मैले खाता खोल्नको लागि आवश्यक सबै कागजपत्र लिएर गएको भोली गरौला भन्दा काम नै गरिदिएनन् ।

मसान्त सकिँदा रकम फ्रिज भयो भने,आजभोली बुझदै जाँदा पैसा वडाअध्यक्ष र वडासचिवले हिनामिना गरेका रहेछन् ।’ वडासचिव लक्ष्मी विष्टका आफन्त इदुपानीका गंगाराम विष्ट भएकाले पैसा खान सजिलो हुने देखेपछि त्यहाँ हालिएको हो बोहराले बताए । (राजधानीबाट ) 

समाचार