Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

धनी विद्यालय नै रोक्छन् शिक्षक–कर्मचारीको तलब

काठमाडौं ः नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यालय सञ्चालन गर्न गाह्रो भएको भन्दै निजी विद्यालयहरूले अभिभावकसँग लकडाउन अवधिको पनि शुल्क आह्वान गरिरहेका छन् भने सरकारसँग राहत प्याकेजको माग गरेका छन् ।

तर आफ्ना शिक्षक र कर्मचारीहरूलाई तलब दिने कुरामा भने विद्यालय सञ्चालकहरू उदार देखिएका छैनन् ।

‘वर्षौंदेखि मुनाफामा रहेका विद्यालयहरूले नै शिक्षक कर्मचारीको तलब रोकेको रिर्पोट आइरहेको छ’ नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा भन्छन्, ‘शिक्षक कर्मचारीकै रगत पसिनाले नाफामा चलिरहेका विद्यालयले महामारीका बेला तलब नदिनु गैरजिम्मेवारीपनको हद हो ।’

सञ्चालकहरूले विद्यालय सञ्चालन गर्नुअघिको र लकडाउन अघि–पछिको सम्पत्ति छानबिन गर्नुपर्ने अध्यक्ष थापा बताउँछन् । उनी भन्छन्, ‘कोरोनाबाट प्रभावित विद्यालयलाई राहत दिनुपर्ने दायित्व सरकारको भए जस्तै शिक्षक कर्मचारीलाई तलब व्यवस्था गर्ने जिम्मेवारी विद्यालय सञ्चालकको हो ।’

विद्यार्थीसँग मासिक ५० हजार उठाउने विद्यालयहरूले शिक्षक कर्मचारीलाई तलब नदिने, सहायकस्तरका कर्मचारीलाई कामबाट निकाल्ने गरेको शिक्षकहरूको गुनासो छ ।

वैशाख यता तलब नदिने ९५ प्रतिशत

विद्यालयहरू लकडाउनका कारण चैतदेखि नै बन्द छन् । लकडाउनकै बेला पनि उनीहरूले उत्तरपुस्तिका जाँच्ने, नतिजा तयार पार्ने, अनलाइन कक्षालगायतका काम गरिरहे । तर विद्यालयहरूले भने वैशाख महिनादेखि नै तलब दिएका छ्रैनन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापा भन्छन्, ‘वैशाख यता ९५ प्रतिशत शिक्षक–कर्मचारीले तलब पाएका छैनन् ।’

केही विद्यालयहरूले भने ५० प्रतिशतसम्म तलब दिइरहेको थापाले जानकारी दिए । दशकौंदेखि स्थापित विद्यालयले समेत तलब नदिएको गुनासो आएको उनको भनाइ छ ।

‘तलब नपाएको रिर्पोट गर्ने साथीहरूको फोन उठाउन भ्याई–नभ्याई छ’ अध्यक्ष थापा भन्छन्, ‘भाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट निकाल्न लागे, चामल किन्ने पैसा नै छैन भन्ने फोन आउँदा साँच्चै पीडाबोध हुँदो रहेछ ।’

कतिपयले गहना बेचेर, कतिले जग्गा धितो राखेर ऋण लिन थालेको थापाले जानकारी दिए ।

‘लकडाउन बहाना मात्रै’

करिब दुई लाख शिक्षकहरू निजी विद्यालयमा आबद्ध छन् । तर उनीहरूमध्ये धेरैले शिक्षा ऐन र नियमावलीले निर्धारण गरेअनुसारको तलब पाएका छैनन् ।

नियुक्ति पत्र नदिने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा नगर्नेजस्ता समस्या लकडाउन पहिलादेखि नै भोग्दै आएको इस्टुका अध्यक्ष थापा बताउँछन् । उनी भन्छन्, ‘पहिलेदेखि नै कानुनअनुसार आफ्नो हक अधिकार नपाइरहेका शिक्षकहरू कोरोनाबाट थप मारमा परेका हुन् ।’

राम्रो नाफामा चलिरहेका विद्यालयहरूले पनि फागुन–चैतको तलब नदिएको शिक्षकहरूको गुनासो छ । माघसम्मको तलब नपाएको रिर्पोट प्राप्त भएको थापा बताउँछन् ।

‘व्यापारमा नाफा–घाटा स्वाभाविक हो, घाटा प¥यो भन्दैमा हाम्रो रगत पसिनाकै कमाइ रोक्न त भएन नि’ चाबहिलस्थित एक विद्यालयका शिक्षक भन्छन्, ‘विद्यालयले नाफा कमाउँदा हामीलाई बाँड्दैनन्, कोरोना नआउँदा पनि हामीले दशैं खर्च पनि पाएनौं ।’

इस्टुका अध्यक्ष थापा संकटका बेलामा शिक्षक–कर्मचारी, विद्यालय सञ्चालक, अभिभावक र सरकारले एक अर्कामा आरोपप्रत्यारोपभन्दा पनि समाधानको उपायमा जोड दिनुपर्ने बताउँछन् ।

समाचार