एक लाख घुससहित नुवाकोटका वन प्रमुख पक्राउ
काठमाडौं । नगद एक लाख घुससहित नुवाकोटका वन प्रमुख पक्राउ परेका छन् । उद्धार गरेर ल्याएको घोरल कार्यालबाटै हराएको दुई दिनमै डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद यादव एक लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
काठमाडौंबाट गएको अख्तियार टोलीले कार्यालयबाटै नगद लाख रुपैयाँ घुससहित शनिबार पक्राउ गरेको बताइएको छ । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले सार्वजनिक बिदाको दिन पनि कार्यालयमै सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ गरिएको जानकारी दिए ।
यसअघि यही बुधबार पञ्चकन्या गाउँपालिकास्थित भद्रुटारमा घाइते अवस्थामा अलपत्र घोरल उद्धार गरेर वन कार्यालयमा ल्याएपछि गायब भएको थियो । उक्त घोरल वन कार्यालयकै कर्मचारीले काटेर खाएको आरोप लागेको थियो । हिमाली बाख्रोको भनिने घोरल बुधबार राति सवा नौ बजे फलामको खोरको डन्डा भाँचेर भागेको भन्दै वन कार्यालयले विज्ञप्ति नै निकालेको थियो ।





