घर–घरमा दिवा खाजा वितरणको अनुगमन
दैलेख ः शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका एकाइ प्रमुख तेज बहादुर थापा सहितको टोलीले टेक होम रासन वितरणको अनुगमन गरेको छ ।
शुक्रवार भगवतीमाई गाउँपालिका भित्रका १८ ओटा प्राथमिक विद्यालय र ६ ओटा आधारभूत विद्यालय गरी २४ ओटा विद्यालयमा अध्ययनरत २६सय ८७ बिद्यार्थीहरुका लागी टेक होम रासनका रूपमा दिवा खाजा वितरण थियो ।
टेक होम रासन लिन आएका शिक्षक, अभिभावकहरूलाई अनिवार्य साबुन पानीले मिचिमिची पटक पटक हात धुन लगाउने, मास्कको समुचित प्रयोग गर्न सचेत गराउने, भौतिक दुरीको पालना र महत्त्व बुझाउनुका साथै वितरणका क्रममा आवश्यक पर्ने अन्य सहयोग गर्ने काममा एकीकृत विकास समाज नेपालका पालिका संयोजक सपना शाही, सामाजिक परिचालक दीपेन्द्र रेग्मी र अमृता अधिकारी निरन्तर रूपमा परिचालित गरिएको छ ।
एकीकृत विकास समाज नेपालले दिवा खाजा कार्यक्रम सञ्चालित विद्यालयहरूमा नै विद्यालय सरसफाइ कार्यक्रम विगत ४ वर्ष देखि सञ्चालन गर्दै आइरहेको एकीकृत विकास समाज नेपालका कार्यक्रम अधिकृत रमेश खनालले बताएका बताए ।
विद्यालय लामो समय सम्म बन्द रहेको अवस्थामा बिद्यार्थीहरु पोसिलो खाजा खानबाट वञ्चित हुन नपरोस् भनेर टेक होम रासनका रूपमा दिवा खाजा वितरण गरिएको जनाइएको छ ।
टेक होम रासनका रूपमा प्रति विद्यार्थीलाई ७ के.जी. चामल, २ के.जी.दाल र ४५० ग्राम तेल उपलब्ध गराइएको बारेमा अनुगमन गरिएको इकाई प्रमुख थापाले जानकारी दिए । 




