‘पाँच दिन भित्र नेकपाको सम्पूर्ण समस्या समाधान हुन्छ ’ : प्रधानमन्त्री ओली
काठमाण्डाैँ ः प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपाको सम्पूर्ण विवाद समाप्त हुने दाबी गरेका छन् । महिनौँदेखि जारी विवादले गम्भीर रूप लिइरहेका बेला कोरोना संक्रमण पनि तीव्र रूपमा फैलिरहेको छ भने यहीबिच नेकपाका शीर्ष नेताहरूको भेटघाट पनि हुन सकेको छैन । यही बिचमा पत्रकार भूषण दाहालसँग एपिवान टेलिभिजनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले पाँच दिनमै पार्टीको विवाद मिल्ने उद्घोष गरेका हुन् ।
‘भोलिको दिनलाई एक गन्नुहोस्, पाँच दिन भित्र पार्टीभित्रको समस्याले निकास पाउँछ ’ प्रधानमन्त्रीको भनाइ छ। सत्तारुढ नेकपाको शीर्ष तहमा महिनौँदेखि जारी विवाद संवादहीनतामा पुगेकोको अवस्थामा प्रधानमन्त्री ओलीले भने छिट्टै समस्या समाधान हुने जिकिर गरेका हुन् । प्रधानमन्त्री ओलीले विगतमा आलोपालो नेतृत्व गर्ने विषयमा सहमति भएको भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै प्रस्तावमा त्यो सहमति खारेज गरेको बताए ।
उनले सरकारको नेतृत्व पाँच वर्ष गर्ने गरी सहमति भएको पनि बताए । प्रधानमन्त्री ओलीले आफू पार्टी फुटाउने नभई जुटाउने मान्छे भएको जिकिर गरे । ओलीले प्रचण्ड र माधव नेपाल समूहले गरेको पत्रकार भेटघाटको सन्दर्भ उल्लेख गर्दै उनीहरुनै पार्टी विभाजनको लागी लागि परेको आरोप लगाए । ओलीले भने ‘पार्टीका अन्य नेताले पत्रकार सम्मेलन नै गरेरै वारपारको लडाइँ लड्ने भनेर उद्घोष गरिरहेका छन् । यता म त चुपचाप पार्टी र सरकारको काममा लागेको छु ।’ (नेपाल फ्ल्यास )




