Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

मापदण्ड पालन गर्ने दैलेख प्रशासनको आग्रह

दैलेखः जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना रोकथामका लागि सुरक्षा मापदण्ड पालना गराउन कडाई गर्न ६ बुदे सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जारी गरेको सूचनामा मापदण्ड पालना नगर्नेहरुलाई कारवाही गर्ने सूचित गरिएको छ ।
कृषि बस्तु ओसारपसार बाहेक अरु काममा जिल्ला बाहिर सवारी साधन रोक लगाइएको छ । मोटरसाइकल र अटोहरु जोरबिजोर प्रणाली सञ्चालन गर्ने, अटो र सरकारी गाडीमा चालक सहित ३ जना र मोटरसाइकलमा चालक सहित २ जना भन्दा बढी व्यक्ति चढाउन नपाइने जनाइएको छ ।
तीज लगायतका धार्मिक कार्य र चाडपर्व घरभित्र मनाउन, कामदार बाहिर जिल्लाबाट ल्याउन नपाइने, होटल र खाजाघरहरुले प्याकिङ्ग गरी होम सर्भिस गर्न मात्र पाउने र होटल आवासमा क्षमताको आधा मात्र सञ्चालन गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।
कोरोना संक्रमण रोकथामका लागि जिल्लाले गरेका निर्णय र नेपाल सरकारले तोकेका मापदण्ड र प्रोटोकल पालन गर्न गराउने जिल्ला कोभिड संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय गरेको जारी गरिएको सूचनामा जनाइएको छ ।

समाचार