Loading... आजः २०८३, २७ जेष्ठ बुधबार

विद्युत प्राधिकरणको नेतृत्वका लागि दौडधुप

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७२ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ ।

प्राधिकरणका वर्तमान र पूर्वअधिकारीहरुसँगै अन्य सरकारी अधिकारी पनि घिसिङले छाड्न लागेको कुर्सीको दौडमा छन् । कतिपय दावेदारले प्रधानमन्त्री निकटका नेताहरुसँग भेटघाट बढाएका छन् ।

सरकारले पुनः जिम्मेवारी दिए थप एक कार्यकाल प्राधिकरण हाँक्न घिसिङ आफैं पनि इच्छुक छन् । लोडसेडिङ हटाएपछि प्राधिकरणसामु आएका ठूला चुनौतीहरुको विश्लेषण गरेर सरकारले जिम्मेवारी दिए आफू कार्यकाल दोहो¥याउन तयार रहेको घिसिङले बताउने गरेका छन् ।

यद्यपि, प्राधिकरणमा भित्रिने जोडबलमा लागेका उमेदवारहरु हेर्दा घिसिङको दोहोरिने सम्भावना न्युन रहेको पछिल्ला चलखेलका जानकारहरु बताउँछन् ।

हुनपनि, विद्युतको नेतृत्वमा आउन पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञावाली नै लागिपरेको चर्चा अझै सेलाइसकेको छैन । हुन त यसबारे समाचारहरु आएपछि उनले आफू त्यो दौडमा नरहेको भन्दै समाजिक सञ्जालमार्फत खण्डन गरेका छन् ।

उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि आवेदन दिएर अन्तरवार्ताका लागि छानिइसकेपछि ‘प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार’ पछि हटेका थिए ।

लगानी बोर्डमा सुशील भट्ट र विद्युत प्राधिकरणमा ज्ञवालीलाई नियुक्त गर्ने गरी मिलाइएको चर्चा थियो । सामाजिक सञ्जालमा भने ज्ञवालीले त्यसलाई नकारेका छन् । विद्युत प्राधिकरणमा नियुक्तिका लागि उनको लबिङ भने नरोकिएको नेकपा स्रोत बताउँछ ।

प्राधिकरणको नेतृत्वमा आउन चाहेका अर्का पात्र विद्युत विकास विभागका महानिर्देशक नवीन सिंह हुन् । लामो समयदेखि विद्युत विकास विभागमा रहेका उनलाई प्राधिकरण मात्र हैन, ऊर्जा मन्त्रालयका कर्मचारीले पनि खासै रुचाउँदैनन् ।

विभिन्न जलविद्युत आयोजनाको लाइसेन्स वितरणमा चलखेलको आरोप खेपेका सिंहले प्राधिकरणको नेतृत्व पाउने सम्भावना कम रहेको मानिन्छ । कमजोर कार्यसम्पादनका कारण हटाइएका सिंह पछि कुनै तरिकाले विद्युत विकास विभाग फर्कन सकेका थिए । अहिले उनी विद्युत प्राधिकरणको सिइओको लागि नेता रिझाउन लागिपरेको स्रोत बताउँछ ।

यसबाहेक प्राधिकरणका पूर्वकार्यकारी तथा उपकार्यकारी निर्देशकहरु पनि सिइओको रुपमा प्राधिकरण फर्कन इच्छुक छन् । उनीहरुले दलका नेताहरुसँगको भेटघाट बढाएका छन् । यो दौडमा सबभन्दा बढी पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले कस्सिएको प्राधिकरण स्रोत बताउँछ । स्रोतका अनुसार, उनी पाएसम्म आफैं, नभए आफ्ना विश्वासिला पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाटलाई ल्याउन कस्सिएका छन् ।

प्राधिकरणकै केही बहालवाला अधिकारी पनि कार्यकारी निर्देशकका रुपमा काम गर्न इच्छुक छन् । उनीहरु खुलेर लबिङमा भने लागेका छैनन् । कुलमान घिसिङले दोहोरिने इच्छा देखाएपछि उनको टिममा काम गरेका बहालवाला उपकार्यकारी निर्देशकहरुलाई खुला पहल गर्न अप्ठेरो परेको छ ।

प्राधिकरणका एक पूर्वउपकार्यकारी निर्देशक घिसिङको इच्छा थाहा भएपछि उनलाई समर्थन गर्दै आफूले दावेदारी नराख्ने निर्णय लिएको बताउँछन् ।

कुलमानको पुनः नियुक्तिको चर्चा

सामाजिक सन्जालमा घिसिङलाई अर्को कार्यकालका लागि पुनः नियुक्ति गर्नुपर्ने माग उठेको छ । भदौ १ गते भएको प्राधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रममा आधिकारिक ट्रेड युनियनले समेत घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन माग गरेको थियो ।

‘हामी कर्मचारीलाई ४ वर्षअघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । अहिले म प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फुलाउने अवस्था छ । यो कुलमान घिसिङकै नेतृत्वमा सम्भव भएकाले सरकारले मूल्याङ्कन अवश्य नै गर्नेछ भन्ने अपेक्षा छ,’ उनले भनेका थिए ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन प्रमुख अतिथि रहेको कार्यक्रममा भएको त्यो मागले घिसिङको पुनः नियुक्ति सम्बन्धी बहस सुरु गरेको थियो । नेपाल विद्युत् प्रधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले ४ वर्षमा घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति गरेकाले प्राधिकरणको ३६ औं वार्षिकोत्सव पनि यही टिमले मनाउन पाउनुपर्ने बताएका थिए ।

कार्यक्रममै सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीले पनि १४ घण्टाको कहालीलाग्दो लोडसेडिङ अन्त्य गर्न सफल भएकाले प्राधिकरणको अहिलेको टिमलाई नै काम गर्न दिनुपर्ने बताएका थिए ।

घिसिङलाई दोहोर्याउन चौतर्फी माग भइरहे पनि दोस्रो कार्यकालका लागि उनी नियुक्त हुन्छन् भन्न सकिने अवस्था भने छैन । राम्रो काम गरेर सर्बत्र कमाएको प्रशंसा र मिडियाप्रेमी छवी नै पनि उनको लागि समस्या भएको प्राधिकरण स्रोत बताउँछ ।

‘कार्यसम्पादनको आधारमा घिसिङको कार्यकाल दोहोरिने सम्भावना पछिल्ला दिनमा नबढेको भने होइन’, स्रोत भन्छ, ‘कदाचित लोकप्रियता र कार्यसम्पादन रेकर्डले काम गर्यो भनेचाहिँ उनले मिडियाप्रेम त्यागेर अघि बढ्नुपर्ने हुन्छ ।’

अहिले प्राधिकरणको सञ्चालक समितिमा ऊर्जामन्त्री वर्षमान पुन आफैं छन् । तर, प्राधिकरणको हरेक नीतिगत निर्णयसहित मार्गदर्शन गरिरहेका मन्त्रीको भन्दा बढी घिसिङको चर्चा हुने गरेको छ ।

प्राधिकरणको सुधारमा सिंगै टिमको योगदान रहेपनि व्यक्ति केन्द्रित चर्चाका कारण घिसिङ दोहोरिन असहजता भएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘उहाँ जत्तिको काम गर्ने मान्छे अहिले प्राधिकरणका लागि उपलब्ध छैनन्,’ ती अधिकारी भन्छन्, ‘केही कुरा सुधारेर अघि बढ्ने अठोट भयो भने कुलमान घिसिङ दोहोरिने सम्भावना नकार्न सकिँदैन ।’

समाचार

सम्बन्धित समाचार