Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

घर भत्कीएपछि झन् आर्थिक अभावको संकटमा अपांग रिजाल

दैलेख ः घरपरिवारको लागि केही गर्ने अठोट लिएर दैलेखको भैरवी गाउँपालिका–५ घर भएका चन्द्रप्रसाद रिजाल छिमेकी मुलुक भारतको गुजरात पुगे । नेपाली साहित्य क्षेत्रमा गजल, मुक्तकका पारखी रिजाल रोजगारीको खोजीमा दौडधुप गर्दै जाँदा विस. २०७४ साल असोजमा गुजरातमा बस दुर्घटनामा परे ।

दुर्घटनामा उनको दुवै खुट्टा र ढाड मुनीको भाग भाँचियो । उनको उपचारमा लाखाैँ खर्च भयो । आर्थिक अवस्था कमजोर भएका रिजाल उपचारमा भारत तथा नेपालका विभिन्न अस्पतालमा पुगे पनि आर्थिक अवस्थाले उनको उपचार सफल हुन सकेन । सात लाख रुपैयाँ खर्चेर भारतमा उपचार गराएका रिजाल थप उपचारको लागि आर्थिक अभाव हुँदा अपाङ्ग शरिर लिएर गाउँमा रहेको घर फर्कीए ।

एकातिर अपाङ्गताको पीडा अर्काेतिर आर्थिक अवस्था कम्जोर हुदाँ गरिवी कसैलाई नआहोस् भन्ने लागेको रिजालले बताए । घर फर्केपछि छरछिमेकबाट सहयोग मागेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पुनः उपचारको लागि भर्ना भएको बताउँदै उनले भने, ‘सुर्खेतमा एक लाख रुपैयाँ खर्च भए पनि शरिरमा सुधार आएन, ‘ऋण गरेरै भए पनि थप उपचारको लागि काठमाडौं गएँ, त्यहाँ पनि दुई लाख रुपैयाँ खर्च भयो ।’

थप उपचारका लागि भैरवी गाउँपालिकामा हारगुहार गरेपश्चात गाउँपालिका– ५ ले २५ हजार रुपैयाँ उपलब्ध गरायो । त्यही रकम बोकेर पोखराको हरियो खर्क अस्पतालमा पुगेका रिजाललाई अस्पतालले पाँच लाख रुपैयाँ अरु खर्च लाग्ने बताएपछि उनि धेरै समस्यामा परेको अनुभव सुनाउँछन् ।

२ महिना पोखरामा उपचार गराएपछि २०७६ असार २२ गते घर फर्केका उनी ह्वील्चीयरको सायताले घर वरपर घुम्न सक्ने भएका छन् । उनि घर फर्केको एक वर्षम यही २०७७ साउन ३० गते परेको अविरल वर्षाले घर भत्केको छ । भत्केको घर बनाउने अवस्था उनको नभएपछि उनि अहिले समस्यामा परेका छन् । केही महिनाको लागि आफन्तको घरमा बसेको उनले बताए ।

भत्केको घर बनाउने अवस्था नभएपछि उनले आफ्नी श्रीमती तारा जैसी (रिजाल) लाई वडा कार्यालयमा केही सहयोगको आशा बोकेर पठाएका थिए । तर, वडा कार्यालयले वडामा बजेट नभएकोले गाउँपालिकालाई रिजालको आर्थिक अवस्था दयनिय भएको र उनलाई सहयोग गरिदिन सिफारीस गरेको छ । प्रहरी चौकी भैरवीलेसमेत भत्केको घरको मुचुल्का बनाइसकेको भएपनि उनको घर अहिले उठ्ने अवस्थामा छैन । २४ बर्षिय रिजालका परिवारमा श्रीमती तारा र एक छोरी छन् ।

समाचार