Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

कक्षा १२ को परीक्षा दशैँअघि नहुने

काठमाण्डाैँ ः  कक्षा–१२ को परीक्षा दशैँ अघि नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले कोरोना संक्रमणदर दिनहुँ बढिरहेकाले दशैँअघि परीक्षा सञ्चालन गर्ने सम्भावना नदेखिएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिलेसम्म पनि केही प्रतिक्रिया नदिएकाले पनि दशैँअघि परीक्षा गराउने सम्भावना नरहेको पौडेलले बताए ।

‘हामीले साउनमै दशैँअघि परीक्षा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेका थियौँ,’ उनले भने, ‘तर अहिलेसम्म कुनै प्रतिक्रिया आएन, कोरोना संक्रमण झन् बढ्दै गएको छ, त्यसैले दशैँअघि परीक्षा गर्ने सम्भावना नै छैन ।’ दशैँअघि परीक्षा सञ्चालन गर्न केही तयारी नथालिएको पनि उनले जानकारी दिएका छन् ।

सबैजसो जिल्लामा कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको, धेरै विद्यार्थीहरू गाउँमै रहेका र लामो दुरीको सवारी साधन चल्ने छाँटकाँट नदेखिएकाले परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएको बोर्डका अधिकारीहरूले बताएका छन् । वैशाख महिनामा लिनेगरी निर्धारण गरिएको कक्षा १२ को परीक्षा कोराना महामारी फैलिएपछि स्थगित भएको थियो ।

समाचार