Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

आजबाट सोह्र श्राद्ध सुरु

काठमाडौं ः दिवंगत पितृहरूको सम्झना गरिने सोह्र श्राद्ध बुधबारबाट सुरु भएको छ । यस अवधिलाई पितृ पक्ष पनि भनिन्छ । श्राद्ध पक्षका १६ दिनमा भाद्र शुक्ल पूर्णिमाका दिन पूर्णिमा तिथिको श्राद्ध गरिन्छ । यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्यासम्म तिथिअनुसार श्राद्ध गरिन्छ । अन्तिम दिन सर्वपितृमोक्ष अमावस्या पर्छ ।

पितृहरूलाई प्रशन्न पार्न तथा जानेर वा नजानेर हामीबाट पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा उनीहरूसँग क्षमा माग्ने संस्कार हो श्राद्ध पक्ष । श्राद्ध पक्षमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन् । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु भए पनि यस वर्ष भने कात्तिक १ मा घटस्थापना पर्न गएको छ ।

यस वर्ष असोज महिनाभर अधिकमाश भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । महामारीका कारण सोह्र श्राद्ध गर्न असहज भएमा विकल्पका रूपमा कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न सकिने शास्त्रीय प्रावधान रहेको ज्यो. पं. नारायण भण्डारीले जानकारी दिनुभयो ।

चाडपर्व यज्ञयाज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको बताइन्छ । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवंगत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसवर्ष कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण मन्दिर, जलाशय या जजमानकोमा गएर श्रद्धा गराउन सम्भव छैन । चाडबाड, रितिथिति, सामाजिक संरचनामा समेत कोरोनाका कारण प्रभाव पर्न गएको छ । श्राद्धकर्म गराउने जजमानकोमा पूजारी तथा पण्डितहरू पुग्ने अवस्था नभएका कारण यस वर्ष यसको विकल्पमा भर्चुअल माध्यमबाटै श्राद्ध कर्म गराउनुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो प्रयोग विल्कुलै नयाँ भए पनि अहिलेको विषम् परिस्थितिमा अर्को विकल्प देखिँदैन ।

समाचार