Loading... आजः २०८३, ३ बैशाख बिहीबार

फेरी अर्को चुनावमा -कविता

फेरी पनि आउने छ चुनाव
शहर देखी गाउँ सम्म
आ आफ्नै पार्टीको झोला र
झोलाभरी सपनाको बजेट बोकेर
चुनाव हाम्रै घर दैलोमा आउने छ

फेरी पनि भोट हाल्नु छ हामीले
र जीताउनु छ कसैलाई
फेरी पनि त्यो सुनचरी भुरर्र उडेर जानेछ
जसलाई हामी विजयको माला र अविर लगाउँने छौँ

भोट हालेर औँलामा लगाएको
मसी सुक्न नपाउँदै
विजयी उमेद्वारले लगाएको माला
गलाबाट भुँईमा राख्न नपाउँदै
अथवा, ती जनप्रतिनिधि भनाउँदाहरुले
पहिलो मिटिङ गरेर सभाहलबाट फर्किन नपाउँदै
फेरी पनि हामी बिरोध गर्ने छौँ
यसो भएन,तेसो भएन भन्ने छौँ
तथानाम गाली गर्ने छौँ
आफ्नो असन्तुष्टि मन पोख्ने छौँ
ढुङ्गा हान्ने छौँ र शडकमा टाएर बाल्ने छौँ

फेरी पनि चितवनको गैँडा पल्टिए झै
महँगा घरका शोफामा पल्टिएर
तानाशाहले हेरीरहने छ हामीलाई
र हाम्रा गतिबिधिहरुलाई,लाज पचाएर
टिभिमा, पत्रपत्रिकामा,फेसबुकमा
वा अन्य माध्यमबाट हेर्ने छ र मुस्कुराउने छ
हो,राननितीको यही चक्र घुमिरहनेछ
तानाशाहले बुट बजारीरहने छ हामी माथी

पार्टीको झोला बोक्नु
नेताको चाकरी गर्नु
चुनावमा भोट हाल्नु
विजयको नारा लगाउनु
अनि त्यही नेतालाई,त्यही जनप्रतिनिधिलाई
र त्यही शरकारलाई
गाली गर्नु,विरोध गर्नु
पुत्ला जलाउँनु र शडक तताउँनु
फेसबसकका भित्ताहरु फोहोर बनाउँनु
जस्ता तमाम गतिबिधिहरु भोली पनि हुनेछन्

तर पनि
हाम्रा नेता, जनप्रतिनिधिहरु
मन्त्रि र शभासद् ज्यहरुले
गरेका सबै गल्तीहरु,महान कुकर्महरु
हामी भुलीदिने छौँ अर्को चुनावमा
आज भोट हाल्दैन भन्नेहरु पनि
भोट खसाल्न सुरुकै लाइनमा लाग्ने छन्
त्यही मान्छे झण्डा समाएर कुर्लने छ
जो आज पार्टीको विरोध गरीरहेको छ
जलाई आज जुत्ता हानीएको छ
जसलाई जुत्ताको माला र कालो मोसो लगाएर
शहर घुमाईएको छ
उसैलाई विजयको माला लगाउँने छौँ
फेरी अर्को चुनावमा

आज सबैले गाली गरेको भ्रष्ट नेता
समाजसेवी र विकास प्रेमी भएर
नमस्कार गर्न आइहाल्नेछन्
उनीहरुलाई हामी बहिस्कार गर्ने छैनौँ
बोतल र मासु चिउरामा भोट हाल्ने छौँ
प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र जे भए पनि
पूँजीबादले हाम माथी शाशन गरीरहने छ
फेरी अर्को चुनावमा पनि हामी
भेडा बाख्रा झै बिक्रि हुनेछौँ

लेखक :
चन्द्र रावत गुराँस
दुल्लू नगरपालिका ७,दैलेख


 

समाचार