‘पीसीआर नेगेटिभ, जीवन पोजेटिभ’
दैलेख ः विगत लामो समयदेखि दैलेखमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल पृथ बयलकोटी दैलेखको रेडियो ज्वाला एफएमका स्टेशन म्यानेजर हुन् । जो कोरोना संक्रमित भई विगत ११ दिनदेखि दैलेख अस्पतालको आइसोलेसनमा छन् । गत ९ भदौमा परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । पछिल्लो पटक सरकारले चालेको कदमसँग पत्रकार बयलकोटी असन्तुष्ट छन् । सरकारले संक्रमित भनिएका व्यक्तिमा कुनै ठूलै खालको समस्या नदेखिएको खण्डमा दोस्रो पटक परिक्षण नगरी घर पठाउन सकिने भनेर असान्दर्भिक कदम अगाडि बढायो । स्वास्थ्य मन्त्रालयको उक्त निर्देशिका विरुद्ध केही दिन त जनस्तरबाट चर्को आलोचना पनि भएको थियो ।
पीसीआरमा नेगेटिभ देखिए, समाजमा आफू पोजेटिभ देखिनु हो
कोरोना भाइरसकै सन्दर्भमा पछिल्लो समय यस्तो धेरै दर्दनाक घटनाहरु बाहिरिए । जहाँ, कोरोना पोजेटिभको ट्याग भिरेका धेरैलाई घरबाट निकाल्ने हर्कत मात्रै गरिएन, गाउँले नै भेला भएर होडबाजीले चुट्ने अमर्यादित काम पनि भयो । यस्ता घटनाहरुलाई निराकरण गर्नकै लागि पनि आइसोलेटेड गरिएको सबैको परीक्षण अनिवार्य हुनुपर्ने पत्रकार बयलकोटीको माग छ । ‘पीसीआर नेगेटिभ देखिनु आफ्नो स्वास्थ्य मात्रै राम्रो छ भन्नुको दस्तावेज मात्रै होइन, समाजमा आफ्नो धरातल कायम गर्नु पनि हो, पत्रकार बयलकोटी भन्छन, ‘समाजले कहाँ यत्तिकै स्वीकार्लान तर स्वीकार्ने परिदृश्य फरक हुन्छ ।’
पहुँचवालाको रजाई
पत्रकार बयलकोटी कोभिडको हवाला दिएर राज्यको अर्थतन्त्रमा पहुँचवालाले गरेको दोहनसँग पनि आपत्ति जनाउँछन् । गरिबहरु बिना परीक्षण क्वारेन्टिन तथा आइसोलेशनहरुबाट छुट्दै गर्दा धनी र पहुँचवालाहरुको घरैमा गएर स्वाब लिने गरिएको छ, बयलकोटी भन्छन्, ‘यहाँ न जनस्वास्थ्य मापदण्डको पालना भएको देखिन्छ, न सरकार आफ्नै निर्देशिका मान्छ, यहाँ त शक्ति र पावरकै भरमा सबै चलिरहेको छ ।’
पहुँचवालाको परीक्षण चाँडो, गरिब सरकारलाई घाडो
त्यसो त पहुँचवालाहरुको घर–घरमै पुगेर स्वाब संकलन गरिएको दर्जनौं उदाहरणहरु पनि छन् । तर, यो पनि सत्य होकी जो गरिब छ, जो निमुखा हो, उसको त आइसोलेशन सेन्टरबाट छुट्ने बेला परिक्षण समेत गरिदैन् । ‘यहाँ त पहुँचवालाहरु मात्रै सर्वेसर्वा हुन्छन्, पहुँचवालाहरुको घरै पुगेर परीक्षण हुन्छ, तर गरिबहरुको क्वारेन्टिन छाड्ने बेलासम्म पनि दोस्रो पटक परीक्षण गर्ने कि नगर्ने भनेर सरकार दुबिधामा हुन्छ,’ बयलकोटी थप्छन, ‘धेरै टाढा किन जाने, दुई दिनअघि मात्रै पनि यहाँबाट केही संक्रमित बिनापरीक्षण छुटे, सामान्य लक्षण समेत देखिएका उनीहरुलाई केही दिनपछि आफैँ ठीक हुन्छ भनेर पठाइयो ।’
के कोरोनाले धनीलाई मात्रै मार्छ ?
सरकारको यी कदमहरुलाई नियाल्ने हो भने कोरोनाले धनी, पहुँचवाला र राजनीतिक वृतमा केही पहुँच राख्नेलाई मात्रै लान्छ कि भनेर भ्रममुग्ध भइन्छ । आफूले यस्तै कथावत् जस्तै सिनारियो पाएको बयलकोटी बताउँछन् । ‘मैले पनि धनीहरुको मात्रै दोहो¥याई तेहे¥याई पीसीआर परीक्षण गरिएको देखेको छु, हिजो अस्ति मात्रै यहाँबाट खोकी लाग्ने, ज्वरो आउनेलगायतका समस्या भएका केही संक्रमितलाई परिक्षण नगरेरै पठाइयो, किनकी, उनीहरु गरिब देखिन्थे ।’
सरकारको निर्देशिका र कामको मेल कहिले ?
सरकारले कोरोना संक्रमण भई १४ दिनसम्म आइसोलेशनमा राखिएकालाई कुनै लक्षण नदेखिए दोस्रो पटक पीसीआर टेष्ट नगरी घर पठाउन सक्ने गरी निर्देशिका जारी गरेको थियो । उक्त निर्देशका विरुद्ध केही हदसम्म आलोचना पनि भयो । तर सरकारले त्यही निर्देशिका बमोजिम समेत काम नगरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार १० अवस्थाका व्यक्तिले कोरोना परीक्षण गराउनुपर्नेछ । कोभिड–१९ को लक्षण (ज्वरो, खोकी, सास फेर्न गाह्रो, स्वाद तथा गन्ध थाहा नपाउने, झाडापखाला) लगायत थुप्रै समस्या भएकाहरु पीसीआर गराउनुपर्ने कोटामा अटाउन पुग्छन् । तर, दैलेखसँगै मुलुकका अधिकांश कोभिड क्वारेन्टिन तथा आइसोलेशनबाट यी सबै समस्या बोकेकाहरुलाई पनि परिक्षण नगरी पठाउने गरिएको पाइएको छ । पत्रकार बयलकोटीले भने, ‘यहाँ लक्षण देखिएका कतिपय बिरामीहरुलाई समेत यत्तिकै छोडिएको देखिन्छ, यो त स्वास्थ्य मन्त्रालयको निर्देशिकलाई नै मात दिने कदम भयो ।’
पीसीआर नेगेटिभ भएपछि मात्रै घर पठाऔं
सरकारले पछिल्लोपटक निर्देशिकालाई सच्याउने ठाउँ राख्दै भन्यो–‘समस्या देखिएको छैन भने यत्तिकै पनि पठाउँदा हुन्छ, त्यसो त सरकारको उक्त कदमसँग थुप्रेको असहमति भएको प्रष्टै देखिन्छ । यही गह्रामा उभिएका बयलकोटी भन्छन्, ‘सरकारले क्वारेन्टिन बसेका सबैको परीक्षण गर्नैपर्छ, त्यसपछि नेगेटिभ देखिएपछि मात्रै घर पठाउनुपर्छ । ’पत्रकार बलयकोटीले सरकारले कोरोना नियन्त्रणको नाममा करोडौं रकम खर्चेपनि त्यसको लाभ पहुँचवालाहरुले मात्र लिएका पाएका बताए । ‘सरकारले करोडौं रकम कोरोना नियन्त्रणको नाममा खर्चेको छ,’ उनी भन्छन्, ‘राज्यकोषबाट निकासा भएको रकम कत्तिको सही ठाउँमा खर्च भइरहेको छ, यसबारे सरकारले ध्यान पु¥याउनुपर्छ ।’ नेपाली नेटवर्कको सहयोगमा ।
