सुरक्षित बासको आशामा पहिरो पीडीत

दैलेख ः एउटै बस्तीमा एक सयबढि घरहरु रहेको बस्ती हो, गैरागाउँ । पहिरोले नराम्ररी थला परेको यो गाउँलाई अहिले शोकसँगै भोकले गाँज्न थालेको छ । गाउँ वरपर सग्लो जमिन छैनन् । सबैतिर पहिरोले क्षतविक्षत छ ।
ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका दानबहादुर कठायत पहिरोले बगाएको आफ्नै गाउँ हेरेर बेलाबेला आँसु खसाल्छन् । पहिरोमा छोरा गुमाएका कठायत भन्छन् ‘बाँच्न त बाँचियो, तर न बस्ने बास रह्यो, न त खेतबारी, गाउँनै रहेन, अब कहाँ जाने के गर्ने ?’ उनिमात्र होइन, स्थानीय बलबहादुर नेपाली भन्छन् ‘घर सहित परिवारको सपना पहिरोले पु¥यो ।’ सिलाईकटाई गरेर परिवारको गर्जो टार्दै आएका नेपाली अहिले परिवार पाल्ने जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् ।
पहिरोमा बस्ने बास गुमाएका नेपाली भन्छन् ‘सहयोगी निकायहरुले पाल, केहि भाँडाकुडा त दिनुभएको छ, त्यतिले मात्रै कसरी जीवन धानौला ।’ उनले सुरक्षित बासको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन् । ‘अर्काको जग्गामा पालमुनीको बसाई कहिलेसम्म हो थाहा छैन्, गाउँ जाउँ, बस्न सक्ने अवस्था छैन्,’ उनले भने ।
उनिजस्तै पहिरोले घरबारी गुमाएका स्थानीय मामसरा विक भन्छिन् ‘अहिलेसम्म कमाएको सबै सम्पती पहिरोले लग्यो ।’
सरकारी तथा गैरसरकारी निकायबाट पाएको सहयोग पर्याप्त नभएको उनी बताउँछन् । ‘खेती गरेको बारीमा पहिरो पसेको छ, मकै उत्पादन बढ्ला भन्ने लागेको थियो,’ विक भन्छिन् ‘मकैबाली समेत बगरमा परिणत भयो, अब पेट भर्ने चिन्ता छ ।’ पहिरोले बस्तीसँगै बारीमा लगाएको धान र मकैबाली सखाप पारेको छ ।
उक्त गाउँमा भदौ २ गते परेको अबिरल बर्षातका कारण पहिरो गएको थियो । पहिरोमा परी दुई बालकहरु जनक कठायत र लोकेश कठायतको मृत्यु भयो । पहिरोमा परी पाँच जना घाइते भएका थिए । ७ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जना उपचारकै क्रममा छन् ।
पहिरोले ७ घर पूर्ण रुपमा ध्वस्त भएको वडाध्यक्ष रमेशबहादुर सिजापतीले बताए । ‘पहिरोले ९० घरका नागरिक विस्थापित भएका छन्, गाउँका ८१ घर पहिरोको उच्च जोखिममा परेको छ,’ वडाध्यक्ष सिजापतीले भने । पहिरोले सर्वस्व गुमाई विस्थापित भएकाहरु अहिले डाडाँमा पाल र आफन्तको घरमा शरण लिईरहेका छन् । ‘पहिरोले करोडौको क्षती भएको, स्थानीयले बास उजाडिएको छ, वडाध्यक्ष सिजापती भन्छन् ‘पहिरोले विस्थापित नागरिकलाई कहाँ राख्ने भन्ने समस्या भएको छ, सरकारले एकिकृत बस्ती बसाल्न पहल गर्नुपर्छ ।’
गैरागाउँका पहिरो पीडितलाई सहयोग
पहिरोले सर्वस्व गुमाई विस्थापित भएका र पहिरोको उच्च जोखिममा परेका घर परिवारहरुलाई सहयोग गरिएको छ । ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका पहिरोले घर गुमाएका सात घरपरिवारलाई १५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराईएको हो ।
डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग उपलब्ध गराएको हो । पहिरोले घरबारी गुमाएका ७ घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराईएको सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । पहिरोका कारण उच्च जोखिममा रहेका परिवारका लागि ५८ वटा पाल, ३० सेट ओड्ने ओच्छ्याउने (सिरक, तन्ना, डसना र सिरानी) र एक सय ५९ मिटर पिफर्म हस्तान्तरण गरिएको थापाले बताए । उनले विभिन्न दातृ निकायहरुसँग समन्वय गरेर पहिरो पीडितहरुलाई सहयोगको लागि पहल गरिने जनाए ।
बिहीवार संस्थाका संस्थापक अध्यक्ष थापा र सल्लाहकार समितिका संयोजक सिता रानाले ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र वडाध्यक्ष रमेशबहादुर सिजापतीलाई सामग्री हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष शाहीले बर्षातका कारण गाउँपालिकाभर ७३ घरहरु भत्किएर नागरिकहरु विस्थापित भएको बताए । अध्यक्ष शाहीका अनुसार ६ सय ७ घर पहिरोको उच्च जोखिममा परेका छन् । विपद्मा परेका नागरिकहरुलाई सरकारी तथा गैरसरकारी निकायहरुले सहयोग प्रदान गरिरहनुभएको अध्यक्ष शाहीले बताए ।
‘पहिरोका कारण विस्थापित नागरिकहरुलाई एकिकृत बस्ती विकास गर्न सात स्थानलाई पहिचान गरेका छौ,’ अध्यक्ष शाहीले भने ‘अब तत्कालै प्रारम्भिक अध्ययन थाल्छौ ।’ अध्यक्ष शाहीले बस्ती विकासका लागि सहयोग गर्न सहकारी दाताहरुलाई आग्रह गरे ।




