Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दसैं–तिहारमा ७७ जुवाडे र ७४ जना अभियुक्त पक्राउ

सुर्खेत ः कर्णाली प्रदेशमा दसैं र तिहारको अवधिमा ७७ जना जुवाडे पक्राउ परेका छन्।

प्रदेशका विभिन्न नौ स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो। तिहारको अवधिमा मात्रै सुर्खेतबाट ३४ जना जुवाडे पक्राउ गरेका छन्। पक्राउ पर्नेमा जनप्रतिनिधि (सुर्खेतको पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसी)देखि सर्वसाधारणसम्म छन्। पक्राउ गरिएकामध्ये केही धरौटीमा छुटेका छन् त केही छानबिनकै क्रममा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

यस्तै दसैं र तिहारकै अवधिमा प्रहरीले ७४ जना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सार्वजनिक अपराधका घटनामा मात्रै ४५ जना छन्। ३० वटा अभद्र व्यवहार अर्थात सार्वजनिक अपराधका घटनामा संलग्न ४५ जनालाई पक्राउ गरी कारबाही गरिएको छ।

त्यस्तै सुर्खेत, दैलेख, जुम्ला, सल्यान र मुगुबाट कर्तव्य ज्यान मुद्दाका ६ वटा घटनाका १६ जना पक्राउ गरी अनुसन्धान गरिरहेको छ। त्यसैगरी १३ जना फरार अभियुक्त पनि दसंै तिहारकै अवसरमा पक्राउ परेका छन्। विभिन्न अपराधमा संलग्न १३ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी सम्बन्धित अदालतहरुमा बुझाइएको प्रहरीले जनाएको छ।

कोरोनाका कारण यो वर्षको दसैं तिहारमा ठूला अपराधिक घटना नभएका कारण प्रहरीको दसैतिहार सुरक्षा योजनामा पूर्ण रुपमा सफल भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद श्रेष्ठले बताए।

चाडपर्वमा हुने चोरी डकैती र अपराध नियन्त्रणका लागि प्रदेशभर तीन हजार ७८९ जना प्रहरी खटिएका थिए। प्रहरीले १९० स्थानमा मोबाइल गस्ती, २८ स्थानमा सुरक्षा चेकजाँच, ३९ स्थानमा ट्राफिकसहित आकस्मिक चेकजाँच र २४ स्थानमा यात्रु सहायता कक्ष राखिएको थियो। दसैंतिहार सुरक्षा योजना सफल भएपछि यात्रु सहायता कक्षा बाहेक सम्पूर्ण सुरक्षा रणनीति अपनाउने प्रहरीले जनाएको छ।

चाडपर्वमै लागु औषधको कारोबार

चाडपर्वकै समयमा लागु औषधको कारोबार भएको पाइएको छ। चाडपर्वको अवधिमा लागु औषध कारोबार गर्ने १८ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जसमध्ये जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ जना पुरुष र दुई जना महिलालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट सात ग्राम ६ सय ३२ मिलिग्राम ब्राउनसुगर नियन्त्रणमा लिएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय रुकुमले १२ किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले पनि ८२ ट्याप्लेट नाईट्राजेपाम, पाँच मिलिग्राम ब्राउन सुगरसहित दु्ई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले १३० मिलिग्राम ब्राउन सुगरसहित तीन जना र जिल्ला प्रहरी कार्यालय मुगुले ३० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरले १०० क्युफिट काठ नियन्त्रणमा लिएको छ। बरामद गरिएको काठ प्रहरीले जिल्ला बन कार्यालय सुर्खेतमा बुझाएको छ। त्यस्तै १५२ किलो बँदेलको मासुसहित तीन जनालाई पक्राउ गरेको छ। उनीहरुलाई पनि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा बुझाएको छ।

त्यस्तै दसैंतिहारकै अवधिमा सुर्खेत, कालिकोट, जाजरकोट, डोल्पा, दैलेख र सल्यानमा गरी ६ वटा सवारी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा आठ जनाको मृत्युको छ भने १४ जना घाइते भएका छन्। नेपाल समयबाट

समाचार