Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

थपिँदै बेरोजगारीको चाप, दैलेखका स्थानिय तहकाे बिवरण सहित

दैलेख ः मुलुकमा कुनै रोजगारीको स्रोत नभएर रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने युवाहरुको संख्या उच्च छ । आर्थिक अभावका कारण विदेशिने क्रम बढिरहेका बेला कोरोना भाइरसको महामारीमा पनि कतिपय युवा गाउँघर छाड्न बाध्य छन् । मुलुकभित्रै काम नपाएर बेरोजगार बस्ने युवाको संख्यामा बर्षेनी थपिँदै गएको छ । खुल्ला सीमाना पार गरेर कयौ नेपाली युवा, युवती कामको खोजीमा दक्षिणी छिमेकी भारत गइरहेका छन् । त्यसको यकिन तथ्यांक छैन् । खाडी मुलुकहरुमा ‘थ्री डि’ (डर्टी, डिफिकल्ट एण्ड डेन्जरस) अर्थात् फोहोर, कठिन र खतरनाक भनिने कामहरुमा हजारौं युवाहरु संलग्न छन् ।
रोजगारीका लागि विदेशिएका अधिकाँश युवाहरु दुःख पाएको अनुभव सुनाउँछन । कयौले अकालमै ज्यान गुमाएका छन् । यति मात्र होइन, विदेशिएका युवाहरुको घरबार नै तहस नहस भएका कयौ उदाहरणहरु छन् । रोजगारीकै लागि विदेशिनु पर्ने बाध्यताले घर परिवारको माया ममता समेतमा आँच पुग्ने गरेको छ । गाउँघरमै कमाउँदै–रमाउँदै काम गर्न सकिने हुँदाहँुदै सरकारको ठोस नीति नभएकै कारण धेरै नेपाली युवाहरु विदेशिनु परेको छ । खास गरी घरेलु कामदारको रुपमा काम गरिरहेका नेपाली दिदीबहिनीहरुले शारीरिक, मानसिक तथा बलात्कार जस्ता जघन्य हिंसाको पनि सिकार बन्नु परेको छ ।
युवायुवतीहरु देशभित्रै रोजगारी नभएकाले बाध्य भएर चर्को गर्मीमा काम गर्न विदेशीन बाध्य भएको बताउँछन् । बेरोजगार नागरिकलाई कसरी व्यवस्थापन गर्नेबारे स्थानीय प्रदेश र संघीय सरकारसँग ठोस नीति छैन् । नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भएको छ ।
नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ ।
सार्वजनिक विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनाहरू सरकारका विभिन्न तह अन्तर्गतका विषयगत मन्त्रालय तथा निकायहरूबाट संचालन हुने गरी कार्यक्रमको सुरु गरे पनि आर्थिक बर्षको अन्त्यमा आउने बजेटको अख्तियारीले विकास सहि तरिकाले हुन सकेको देखिदैन् । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ ।
न्यूनतम रोजगारी प्रदान गर्न नसके नेपाल सरकारले हरेक बेरोजगार परिवारलाई एक जना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्ता दिनु पर्ने व्यवस्था समेत गरे पनि कार्यक्रमको प्रभावकारीता देखिदैन् ।
अर्कोतर्फ बर्षेनी मुलुकमा बेरोजगार युवाको चाप बढिरहेको छ । सरकारी तत्थ्यांकले नै नेपालमा बेरोजगारीको संख्या बृद्धि भईरहेको देखाउँछ । यस बर्ष कोरोना महामारीले धेरै युवाहरु वेरोजगार भएका छन् । कतिपय युवाहरु विदेशबाट फर्केर गाउँमै भौतारीरहेका छन् । प्रधानमत्री रोजगार कार्यक्रमको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा भन्दा चालु आर्थिक बर्षमा बेरोजगार युवाको संख्या बृद्धि भएको छ । दैलेख जिल्लामा मात्र अघिल्लो बर्षमा नौ हजार छ सय ६० जना बेरोजगारमा सुचिकृत भएका थिए । 
चालु आर्थिक बर्षमा उक्त संख्या बृद्धि भई २० हजार २४ जना सुचिकृत भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको तथ्यांकमा छ । ती मध्इे १२ हजार ६ सय ६ जना पुरुष छन् भने ७ हजार ४ सय १८ महिलाको संख्या छ । स्थानिय तह अनुसार बेरोजगार संख्या सबै भन्दा धेरै भगवतीमाई गाउँपालिकामा तीन हजार ती सय ६४ जना छ ।
यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकामा दुई हजार ७ सय १०, नारायण नगरपालिकामा दुई हजार ५ सय ३९, ठाटिकाँध गाउँपालिकामा दुई हजार ४ सय १४, डुङ्गेश्वर गाउँपालिकामा दुई हजार २ सय ७२, नौमूले गाउँपालिकामा दुई हजार ५४, गुराँस गाउँपालिकामा एक हजार ५ सय ७१, दुल्लू नगरपालिकामा एक बजार ४ सय १८, महाबु गाउँपालिका आठ सय ६९, र सबै भन्दा कम भैरवी गाउँपालिकामा चार सय ४ जना बेरोजगारको सूचीमा सुचिकृत भएका छन् ।

भगवतीमाईमा ८ योजना छनौट रकम सहित

जिल्लाको ११ वटा स्थानीय तह मध्ये सबै भन्दा धेरै बेरोजगार रहेको भगवतीमाई गाउँपालिकाले चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोगजार कार्यक्रमका लागि ८ वटा योजना छनौट गरेको छ । युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना मार्फत ८ वटा आयोजनामा चालु आर्थिक बर्षमा सुचिकृत भएका बेरोजगार युवालाई काममा लगाउने तयारी गरिएको छ । यस कार्यक्रमका लागि नेपाल सरकारको शसर्त अनुदानबाट आएको ५१ लाख ७० हजार रुपैयाँ मार्फत करिब एक सय दिनको लागि रोजगारी पाउनेछन् ।
रोजगारी पाएकाहरुले गाउँपालिकाले छनौट गरेको ८ वटा आयोजनामा काम गर्ने गरी योजना छनोट गरिएको भगवतीमाई गाउँपालिकाका रोजगार संयोजक बलबहादुर भण्डारी बताउँछन् । युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना मार्फत गरिने काम सुरु भएको छ । यस परियोजनामा एक सय जनाले एक सय दिन काम गर्ने छन् । सुचिकृत भएका अन्य बेरोजगार व्यक्तिहरुलाई कुनै पनि दाताहरुले कामको लागि जनशक्ति माग गरेमा सुचिकृतबाट दाता र गाउँपालिकाको सम्झौता बमोजिम उचित पारिश्रमीक पाउने गरी काममा खटाउन सकिने गाउँपालिकाले जनाएको छ ।

समाचार