Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

‘पहिले किन्थे, अहिले बेच्छन्’

तरकारी खेती देखाउँदै गुराँस गाउँपालिकाका किसान ।

दैलेख ः पुर्खौ देखी परम्परागत कृषि गर्दै आइरहेको गुराँस गाउँपालिका–४ का किसान व्यवसायिक तरकारी खेतीमा आकर्षित भएका छन् ।
परम्परागत रूपमा खेती गर्दै आइरहेका कृषकहरु व्यवसायिक तरकारी खेती तर्फ आकर्षित भई व्यवसायिक रूपमा तरकारी खेतीबाट मनग्य आम्दानी समेत गर्न थालेका छन् । कम समय र थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि किसानहरू परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेती तर्फ लागेका हुन् ।
गुराँस गाउँपालिका–४ मा बसोबास गर्दै आएका गौरा वि.क. छोरा छोरीको लालन पालनका लागि वर्षमा दुई पटक कालापहाड जान्थे । छोरा छोरीले विवाह गरेर आफ्नो घर लागेपनि कालापहाड जान नछुटेको उनलाई कोरोना महामारीले घरमै बस्न बाध्य बनायो । सधैँ अरूबाट किनेर आलु खाने उनले यो बर्ष एक क्विन्टल आलु लगाए । ‘पहिले अरूबाट किनेर खान्थ्यौँ अहिले तरकारी बेच्ने गरेका छौ,’ उनले भने ‘कोरोना महामारीले रोजगारी मुमेपछि घर फर्कियौ आफूसँग बिउ किन्ने पैसा समेत थिएन, कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमी रिकोभरी कार्यक्रम मार्फत एक क्विन्टल आलुको बिउ, मुला, भाजी, काउली र बन्दाको बिउ पाएसँगै किनेर खाने हामी तरकारी बेच्न भएका छौ ।’ संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा उक्त कार्यक्रम सञ्चालित छ । घरमै तरकारीका मण्डी सञ्चालक आएर प्रतिकिलो ६० रुपियाँ खरिद गरेर लिने गरेको उनले बताए । ‘दुई क्विन्टल बिक्री भइसक्यो, अब तीन क्विन्टल बाँकी छ,’ उनले भने ‘त्यति बेच्न पाइयो भने यो बर्ष काला पहाड जानुपर्दैन् ।’
उहाँ मात्र होइन गुराँस गाउँपालिका–४ का ज्ञानबहादुर शाही पनि रोजगारीका लागि काला पहाड जान्थे । बर्षमा दुई पटक रोजगारीका लागि जाने र खेती लगाउने र स्याहार्ने बेलामा घर आउने शाहीलाई कोरोना महामारीले घरमै रोक्यो । आम्दानी गर्ने बाटो समेत बन्द भयो । आफूलाई खानलाई आलु र अन्य तरकारी लगाउने शाहीले व्यवसायीक रूपमा तरकारी खेती गरेसँगै राम्रो आम्दानी हुन थालेको छ । ‘कोरोना महामारीले व्यावसायिक तरकारी खेती गर्न प्रेरित ग¥यो, अहिले गुहँ लगाउने बारीमा आलु लगाएको छु,’ उनले भने ‘अझै आलुको मूल्य नपाएका कारण खनेको छैन् ।’ बारीमा सात क्विन्टल बराबर आलु उत्पादन भएको उनको अनुमान छ ।
गुराँस गाउँपालिका–४ बराहका भीमबहादुर बिकले कोरोना महामारीका कारण रोजगारी गुमेपछि आफूहरू समस्यामा परेको बताउँछन् । ‘चैत यता केही काम पाएका छैनौ, बालबालिका र आफूलाई बिहान बेलुका छार्क टार्न मुस्किल हुने अवस्था आएको थियो,’ उनले भने ‘अहिले तरकारी बेचेर राम्रो आम्दानी गरेका छौ ।’ गौरा, ज्ञानबहादुर र भीमबहादुर जस्तै गुराँसका अन्य किसानहरु तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।
गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले उर्बर खेतबारी बाँझै राख्ने र आयातित आलु किनेर खाने गरेका किसानलाई व्यवसायिक रूपमा आलु खेती तर्फ आकर्षित गर्ने र उनीहरूको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले आलुको बिउ सहयोग गरिएको बताउँछन् । बिउ वितरण गरेर किसानलाई व्यवसायिक रूपमा तरकारी खेती गर्न उत्प्रेरणा जगाइएको अध्यक्ष ओलीको भनाई छ । महिला सशक्तीकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले कार्यक्रम मार्फत एक सय कृषकलाई आलुको बिउ वितरण गरिएको बताइन ।

परियोजनाको कार्यक्षेत्र विस्तार गर्न माग

गुराँस गाउँपालिका युएनडिपी र महिला सशक्तिकरण मञ्चद्धारा सञ्चालित कोभिड–१९ रेस्पोन्स एण्ड सोसियो इकोनोमिक रिकभरी परियोजनाको कार्य क्षेत्र विस्तार गर्न माग गरिएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर घर फर्केका युवा, एकल महिला र घरेलु हिंसामा परेका महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने उद्देश्यले परियोजना सञ्चालित छ । परियोजनाले संचालन गरेका क्रियाकलापको अनुगमन गर्न पुगेको साझेदार संस्थाहरुलाई गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले परियोजनाको कार्यक्षेत्र विस्तार गर्न आग्रह गरेका हुन् । परियोजनाले कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई स्वदेशमै रोक्न र व्यवसायिक बन्न उत्प्रेरणा जगाएको भन्दै अध्यक्ष ओलीले गाउँपालिका भरी परियोजना लागु गर्न आग्रह गरेका हुन् ।
‘परियोजना संचालन भएको गाउँमा जाँदा त्यहाँका कृषकले गरेको तरकारी खेती, बाख्रा पालन र कुखुरा पालन हेर्दा उहाँहरुमा हौसला छाएको छ, घरमै बसेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ’ अध्यक्ष ओलीले भने ‘परियोजनाले कार्यक्षेत्र विस्तार गरेर अन्य युवालाई पनि स्वदेशमै उत्पादनमा जोड्न सहयोग गर्नुपर्छ ।’

समाचार