नेपाल दियो भारतलाई ‘कुटनीतिक नोट’
काठमाडौं ः सरकारले सीमाको विवाद हल गर्ने विषयमा तत्काल वार्तामा बस्न भारतसँग आग्रह गरेको छ । कोरोनाको संक्रमणपछि वार्ता गर्ने भारतको आश्वासनलाई अस्विकार गर्दै तत्काल प्रक्रिया अगाडी बढाउन भनेको हो ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर राजनीतिक नक्सा जारी गरेपछि शुरु भएको नयाँ सिमा विवाद समधान गर्न नेपालले पटक पटक वार्ताको आग्रह गरेपनि भारत भाग्दै आएको छ । गत शुक्रबार लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपाल र भारतबीच सीमा विवाद थप उत्कर्षमा पुगेको छ । नेपालले शनिवार नै विज्ञप्ती जारी नेपाली भूमिमा पर्ने लिपुलेक हुँदै जाने ‘लिंक रोड’ ‘उद्घाटन’ गरेको थाहा पाउँदा नेपाल सरकारलाई दुःख लागेको भनि प्रतिक्रिया दिएको थियो । साथै तत्कालै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको थियो । भारतका विदेश मन्त्रालयका प्रवक्ताले लगत्तै कोरोनाको संक्रमणपछि वार्ताको प्रस्ताव गरेका थिए ।
सरकारले सोमबार नेपालका लागि भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर ‘कुटनीतिक नोट’ दिएको छ । लिपुलेकमा एकलौटी जवरजस्ती बनाएको बाटोमा असन्तुष्टि राख्दै नेपालले सो नोट भारतीय राजदूत विनयमोहन क्वात्रालाई दिएको हो । सिंहदरवारस्थित मन्त्रालयमा सोमबार विहान करिव साढे ११ बजे आएका उनलाई बिनासूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा कुटनीतिक नोट दिइएको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार उक्त नोटमा सरकारले शनिवार जारी गरेको विज्ञप्तीमा नै उल्लेख भएका बुँदाहरु नै समेटिएको छ ।
भेटमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतको पछिल्लो रवैयाप्रति असन्तुष्टि जनाउदै नेपाली भूमिमा कुनै खालको गतिविधि नगर्न आग्रह गरेका थिए । उनले तत्कालै वार्ताका लागि पहल गर्न र यस्तो समस्या चाडो भन्दा चाडो समधान गर्नेतर्फ ध्यान दिन आग्रह गरेका थिए । ‘सीमा समस्या जति राख्यो, त्यसले दुवै देशलाई नै नोक्सान गर्दछ’, मन्त्री ज्ञवालीको भनाई उल्लेख गर्दै स्रोतले भन्यो,‘यस्ता समस्या चाडो भन्दा चाडो कुटनीतिक वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नेपालको जोड रहेको छ ।’ भेटमा राजदूत क्वात्राले मन्त्री ज्ञवालीका कुरा सुन्दै वार्ताका विषयमा विदेश मन्त्रालयले आवश्यक तयारी गरेपछि थप जानकारी गराउने बताएका थिए । भेटमा मन्त्री ज्ञवालीसहित सचिव शंकर वैरागीसहितका पदाधिकारीहरु सहभागी रहेका थिए ।
यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्नुपर्ने बताए । उनले लिपुलेकमा भारतले सडक निर्माण गरेकोबारे तत्काल चीनसँग छलफल गर्न नहुने पनि बताएका छन् । उनले सरकारले दुई देशबीच समझदारी बनेको परराष्ट्र सचिव स्तरीय वार्ताका लागि पहल गरे पनि हुन नसकेको बताए ।
‘हामीले दुई पक्षबीच सहमत भएको परराष्ट्र सचिव स्तरीय संयन्त्र हो, त्यहाँबाट वार्ता सुरू गरौं भन्ने हो’, ज्ञवालीले भने, ‘हामी प्रधानमन्त्री, परराष्ट्र मन्त्री जुनसुकै तहमा वार्ता गर्न चाहन्छौं ।’ उनले सरकार कोरोनापछिसम्म वार्ताका लागि कुर्नेमा नरहेको बताए । ‘भारतीय विदेश मन्त्रालयका प्रवक्ताले कोरोनापछिसम्म भनेर भन्नु भएको छ …हामी त्यति पर्खंदैनौं’, ज्ञवालीले भने । यद्यपि भर्चुअल बैठक गर्न उचित नहुने उनको तर्क थियो ।
‘राष्ट्रियतासँग जोडिएकाले डाटाको सुरक्षाको विषय उठ्छ’, उनले भने, ‘तर हामी फुर्सदमा वार्ता गर्ने पक्षमा छैनौं ।’ समितिकै सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई भिडिओ कन्फरेन्सबाट भए पनि वार्ता गर्न सुझाएका थिए । नेता नेपालले भारतसँग अब धेरै सीमामा विवाद गर्नुभन्दा काँडेतार लगाउनुपर्ने सुझाव समेत दिएका छन् ।
छांगरुमा बीओपी स्थापना हुँदै
दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी क्षेत्र नजिकै छांगरुमा बुधबार सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुने भएको छ । गृहमन्त्रालयका अनुसार ३१ वैशाखमा छांगरुमा स्थापना हुने बीओपीका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् सशस्त्र प्रहरी लगिनेछ ।
बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्तीका सम्पूर्ण सामानहरूसमेत हेलिकप्टरमार्फत् त्यहाँ पु¥याउन लागिएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले गृहमन्त्रालयले ३१ वैशाखमा कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी स्थापनाका लागि हेलिकप्टर लैजान जंगी अडडमा पत्राचार भएको जानकारी दिए । प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली बीओपीमा राखिने छ । स्थानीयले व्यासको छांगरुमा भवन निर्माण गर्नका लागि जमिनसमेत उपलब्ध गराइसकेका छन् ।
यातायातका दृष्टिकोणले निकै विकट रहेको उक्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत् आवश्यक बन्दोबस्तीका सामान लैजान लागिएको हो । व्यास गाउँपालिका–१ छांगरुमा सशस्त्र प्रहरी बलको स्थायी बीओपी स्थापना हुनेछ । गत वर्षको कात्तिकमा भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेदेखि नै त्यस क्षेत्रमा सशस्त्रको प्रहरी बलको पोष्ट राख्न माग बढेको थियो । दार्चुलाको उत्तरमा चीन र दक्षिणमा भारतसँग सीमा जोडिएको छ । भारतसँग नेपालको १९८ किलोमिटर र चीनसँग १५ किलोमिटर सीमा जोडिएको छ । अहिले बीओपी राखिने क्षेत्रदेखि कालापानी १२÷१३ किलोमिटरको दूरीमा रहेको छ ।




