Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि प्रत्येक जिल्लामा १७ करोडदेखि ४४ करोडसम्मको बजेट

सुर्खेत ः  कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम चालू आर्थिक वर्षमा समयमै सञ्चालन  गर्ने तयारी थालिएको छ । गत आर्थिक वर्ष ढिलोगरी जेठ अन्तिम सातामा मात्र बजेट पठाइएको थियो, जसकारण असारमा काम शुरू गरेका स्थानीय तहहरूले प्रभावकारी रूपमा काम गर्न सकेनन् ।
यस वर्ष भने स्थानीयतहमा बजेट पठाउने तयारी करीब अन्तिम चरणमा पुगेको प्रदेश सरकारले बताएको छ ।

यस वर्ष प्रत्येक वडामा ३३ लाखदेखि ६५ लाखसम्म बजेट पठाउने तयारी गरिएको छ । त्यसका लागि बजेट जिल्लामा रहेका सामाजिक विकास कार्यालयहरूमा पठाइसकिएको  छ । यो वर्ष प्रत्येक जिल्लामा १७ करोड देखि ४४ करोड सम्मको बजेट उक्तm कार्यक्रमका लागि पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

जनसंख्या, भौगोलिक विकटता, गरिबी जस्ता कुराहरूलाई प्राथमिकतामा राखिएको  बताईएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि वडागत रूपमा जम्मा २ अर्ब ९७ करोड ७१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । उक्त रकम प्रदेशका ७९ वटै स्थानीय तहका ७१८ वडामा पठाइने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिए ।

हाल योजना छनोटको काम भइरहेको छ । पुस ६ गते मात्रै प्रत्येक स्थानीयतहलाई बेरोजगार व्यक्तिको विवरण पठाउन परिपत्र गरिएको छ । ‘यही पुस १५ गतेभित्रै १८ देखि ५९ वर्ष उमेर समुहका व्यक्तिको विवरण पठाउन आग्रह गरिएको छ,’ उनले भने ।

गत वषको तुलनामा यो वर्षको बजेट निकै धेरै हो । गत आवमा ७८ करोड २५ लाख ५४ हजार २७४ रुपैयाँ खर्च भएको यो कार्यक्रमका लागि प्रत्येक स्थानीय तहलाई ६४ लाखमा दरमा रकम उपलब्ध गराइएको थियो ।

गत आर्थिक बर्ष अन्तिम समयमा बजेट पठाउँदा बजेटको सही सदुपयोग हुन नसकेको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । प्रत्येक स्थानीय तहमा १÷१ योजना थिए, भने कुनै स्थानीय तहमा दुई ओटासम्म योजनामा रकम खर्चिइएको थियो ।

‘पदमार्ग, घोडेटो बाटो, मन्दिर निर्माणलाई यो पालि बजेट दिइएको छैन,’ प्रवक्ता उपाध्यायले भने । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब ८० करोड रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको जानकारी उनले दिए ।

मुख्य रोजगार कार्यक्रम संयोजक सर्वदल शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट योजना छनोटको अन्तिम चरणमा रहेको बताए । रोजगार कार्यक्रमका लागि प्रत्येक वडाले आफ्नो वडामा रहेका बढीमा ५ ओटा योजना स्थानीय तहलाई बुझाउनु पर्नेछ ।

स्थानीय तहले सबै वडाबाट आएका मध्ये पाँचओटा योजना मात्र सम्बन्धित जिल्लामा रहेका सामाजिक विकास कार्यालयमा पठाउनेछ, जसमा सम्बन्धित क्षेत्रका प्रदेशसभा सांसदहरुको संयोजकत्वमा बनेको योजना छनोट समितिले योजना छनोट गरेर एक स्थानीय तहका कम्तिमा ३ वटा योजना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनेछ ।
त्यसपछि प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा बनेको कार्यक्रम निर्देशक समितिले योजना छनोट गरेर सम्बन्धित स्थानीय तहमा बजेटसहित पढाउने बताइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अख्तियारीको जिम्मा प्रत्येक जिल्लामा रहेका सामाजिक विकास कार्यालयलाई दिएको छ । अब योजना छनोट हुने बित्तिकै सम्बन्धित वडा तहमा रकम जानेछ ।

गत आव पहिलो अभ्यासले गर्दा बजेट पठाउन ढिलो भएको भन्दै यो आर्थिक वर्ष यही महिनादेखि नै बजेट कार्यान्वयन प्रक्रिया अघि बढाइएको  छ । अार्थिक अभियानबाट

समाचार