Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

भयले भरिएको वर्ष–२०२०

काठमाडौं : अंग्रेजी वर्ष २०२० सकिएको छ । आज कोरोना महामारीको रोकथामका लागि उच्च सतर्कता अपनाउँदै नयाँ वर्ष २०२१ मनाइदैछ । पछिल्ला वर्षहरुमा अंग्रेजी वर्ष मनाउने प्रचलन बढेर गएको छ । बिक्रम् सम्वत वैशाखबाट शुरु हुने भए पनि अंग्रेजी वर्ष मनाउने, बितेको वर्षको समीक्षा गर्ने र नयाँ संकल्प गर्ने प्रचलन बढेको छ ।

 

त्यसैले यहाँ बितेको वर्ष २०२० को समीक्षा गरिनेछ । बितेको वर्ष २०२० फर्फेर हेर्दा मानवीय, आर्थिक, संवैधानिक र राजनीतिक संकटमा सकियो । यो वर्ष शुरु हुनासाथ विश्वव्यापी कोरोना महामारी शुरु भयो । उत्तरी छिमेक चीनबाट शुरु भएको कोरोना महामारीबाट विश्वभर आठ करोड ३० लाख बढी संक्रमित भए । १८ लाख मानिसको त संक्रमणबाट मृत्यु भयो ।

 

नेपालमा मात्रै दुई लाख ६० हजार संक्रमित र १८ सय बढीको मृत्यु भयो । विश्वभर जस्तै नेपालमा लामो लकडाउन गरियो । चैत ११ गतेदेखि साउन ७ गतेसम्म देशब्यापी लकडाउन गरियो । त्यसपछि पनि स्थानीय स्तरमा निषेधाज्ञा गरियो । यसले मानवीय संकट मात्रै देखिएन । आर्थिक रुपमा समेत मुलुक संकटमा प¥यो । १२० दिन लामो देशब्यापी लकडाउनका कारण कयौले रोजगारी गुमाए । वैदेशिक रोजगारी र अध्यनन गर्न विश्वभर पुगेका आफन्तको चिन्ता कायमै रह्यो ।

 

यातायात, बजार, शैक्षिक संस्था, मनोरञ्जनस्थल लगायत क्षेत्र ठप्प हुँदा झनै संकट आइलाग्यो । कोरोना महामारीकै कारण जीवनशैलीमा परिवर्तन देखियो । वर्षभर मास्क लगाएर हिड्ने, सामाजिक दुरी कायम गर्ने देखि भेटघाट गर्ने संस्कृतिको विकास हुन पुग्यो । यो कोरोना महामारीका कारण मुलुकको आर्थिक, सामाजिक र मानवीय क्षेत्रमा देखिएको संकटको कुरा भयो ।

 

नेपालमा यस भन्दा फरक भने राजनीतिक तथा संवैधानिक संकटको त्रास भइ नै रह्यो । विशेषगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको कलह वर्षभर नै चलिरह्यो । वर्ष २०२० को थालनि सभामुख को हुने भन्ने रस्साकस्सी देखिएको नेकपा नेतृत्व सरकारले वैशाख पुग्दा संवैधानिक परिषद् सम्बन्धी र दल विभाजन सम्बन्धी अध्यादेश ल्यायो । दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि चर्किएको विवादले अन्ततः नेकपा विभाजित हुन पुग्यो । यसको असर संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसम्म नै पुग्यो । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकाले यो वर्ष पनि नेपालमा वर्ष २०२० कै जस्तो घटनाक्रम र संकट आउने भय देखिन्छ ।

समाचार