Loading... आजः २०७८ बैशाख २३, बिहीबार

शैक्षिक योजना तर्जुमा, क्षमता विकास कार्यशाला सम्पन्न

दैलेख :  दैलेखका ११ वटै स्थानीय तहहरुको शैक्षिक योजना तर्जुमा क्षमता विकास सम्वन्धी ५ दिने कार्यशाला बिहीवार सदरमुकाममा सम्पन्न भएको छ । कार्यशालामा दैलेखका सबै स्थानीय तहका सामाजिक विकास समितिका संयोजक, योजना शाखा र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख समेत ३३ जनाको सहभागिता थियो । विद्यमान शिक्षा नीतिका समस्या, योजना निर्माण प्रक्रिया, एकीकृत शिक्षा सूचना प्रणाली, योजनामा समावेशीकरण, एकीकृत पाठ्यक्रम तथा शिक्षण सामग्री र प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको प्याकेज निर्माण विषयमा प्रयोगात्मक अभ्यास भएको थियो ।
कार्यशाला स्थानीय तहमा आवश्यकताका आधारमा शिक्षा योजना निर्माण गर्न सहयोगी भएको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक दिनेशबहादुर बिकले बताए । स्थानीयको शैक्षिक अवस्थाको विश्लेषण, सरकारको शैक्षिक विकास रणनीति, दीगो विकास लक्ष्य प्राप्तिका लागि शिक्षा क्षेत्रमा गर्नुपर्ने लगानी र योजना कार्यान्वयन रणनीतिक सैद्धान्तिक र व्यवहारिक ज्ञान पाएको नौमूले गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कल्पना सिंहले सुनाइन् ।
कार्यशालामा सिकिएको सीपका विषयबाट आफू धेरै खुशी रहेको ठाटीकाँध गाउँपालिकाका योजना शाखा प्रमुख मनबहादुर थापाले बताए । योजना शाखामा नयाँ अनुभव भएको बेला योजना निर्माणका लागि आवश्यक पर्ने तथ्यांक, आवश्यकता, योजना कार्यान्वयन रणनीतिक महत्वपूर्ण लागेको उनको भनाई थियो ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखको आयोजनामा गरिएको कार्यशाला यूएसएड÷आरटीआईको आर्थिक तथा प्राविधिक सहयोगमा भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तेजबहादुर थापाले जानकारी दिए । यूएसएड÷आरटीआईले नेपाल सरकारको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बालबालिकाहरुको प्रारम्भिक तहमा पढाइ सीप बृद्धिमा काम गरिरहेको छ ।
यूएसएड÷आरटीआईका श्रोत व्यक्तिहरु उपेन्द्रबहादुर भण्डारी, रामकृष्ण हुमागाईँ, नरेशविक्रम ढकाल, तेजप्रकाश रिमालले कार्यशालामा सहजीकरण गरेका थिए । समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जिल्लाका सबै पालिकाका सरोकारवालाहरुका लागि एकै स्थानमा कार्यशाला गरिएको ११ वटै पालिकाले शैक्षिक योजना बनाउन एक रुपता आउनेमा बिश्वास व्यक्त गरे ।
भैरबी गाउँपालिका–३ का वडाध्यक्ष एवं भैरबी गाउँपालिका सामाजिक विकास समितिका संयोजक देबी भण्डारी, दुल्लू नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख विकासजंग शाही र भगवतीमाई गाउँपालिकाका योजना अधिकृत टोपबहादुर बुढाले कार्यशालामा सिकेको सीप र ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका थिए ।