नेकपा विवादको प्रभाव विकासमा
दैलेख ः गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै आगामी वैशाखमा दुई चरणमा चुनाव गरिने घोषणा गरिन् । त्यसयता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद चरम उत्कर्षमा पुगेको छ । नेकपा दुई समुहमा बाँडिएको छ । नेकपा विवादको प्रत्यक्ष असर विकास निर्माणमा समेत देखिन थालेको छ । कर्णाली प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयबाट एक निर्वाचन क्षेत्र एक बहुवर्षिय योजना छनोटमा समेत त्यसको प्रभाव परेको हो ।
दैलेखमा चारवटा निर्वाचन क्षेत्र छन् । चारवटा मध्ये तीन वटा क्षेत्रका लागि योजना स्वीकृत हुँदा एउटा निर्वाचन क्षेत्रलाई भने योजनाबाट बञ्चित गरिएको छ । मन्त्रालयले निर्वाचन क्षेत्र नः १ (क) बाहेक तीन वटा निर्वाचन क्षेत्रका लागि बहुवर्षिय सडक निर्माणका लागि स्वीकृत प्रदान गरेसंगै आफुले समुह परिवर्तन गरेकै आधारमा आफ्नो निर्वाचन क्षेत्रका योजना मन्त्रालयले हटाएको भन्दै प्रदेश सांसद धर्मराज रेग्मीले सामाजिक संजालमा आपत्ती जनाएका छन् ।
नेकपाका केन्द्रिय सदस्य समेत रहेका रेग्मी दैलेख निर्वाचन क्षेत्र नः १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनले कर्णाली प्रदेश सरकारले राजनीतिक पक्षधरताका आधारमा आफ्नो निर्वाचन क्षेत्रको बुहवर्षिय योजना हटाइएको बताएका छन् । तत्कालिन नेकपा माओबादी केन्द्रबाट निर्वाचित भएका सांसद रेग्मी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा लागेका छन् । उनि यता लागेकै आधारमा आफ्नो निर्वाचन क्षेत्रमा रहेको बहुवर्षिय योजनालाई हटाएर अन्य निर्वाचन क्षेत्रको बहुबर्षिय सडक निर्माणका लागि स्वीकृत प्रदान गरेको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा क्षेत्र न. १ (ख) निर्वाचन क्षेत्र न. २ को (क) र (ख) मा मात्रै सडक आयोजना स्वीकृत गरेर काम अगाडी बढाउनु पुर्वाधार विकास कार्यालय दैलेखलाई पत्र पठाएको थियो । पाँच वर्षे अवधिका ती आयोजनाहरुमा २५ करोड देखी ३७ करोडसम्म बजेट बिनियोजन गरिएको छ । निर्वाचन क्षेत्र न. २ (क) प्रदेश सभा सदस्य शुशिल थापाको निर्वाचन क्षेत्रमा माथिल्लो डुङ्गेश्वर–दुल्लु स्याउली हुँदै कालिकोट सडक खण्ड आयोजना स्वीकृत भएर २९ करोड बजेट बिनियोजन गरेको छ ।

सभामुख राजबहादुर शाहीको निर्वाचन क्षेत्र न. २ (ख) मा रामघाट–ठाँटिकाँध–सिहासैन–पिपलकोट हुदै कालिकोट जोड्ने सडक आयोजनाका लागि २५ करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै निर्वाचन क्षेत्र नः १ (ख) प्रदेश सांसद अम्मर बहादुर थापाको निर्वाचन क्षेत्रमा दैलेख सदरमुकाम देखी नौमुले हुँदै जाजरकोट जिल्लाको जुनिचाँदे सडक आयोजनाका लागि २७ करोड ३३ लाख बिनियोजन बजेट बिनियोजन गरिएको छ ।
सबै क्षेत्रमा आयोजना स्वीकृत गर्दा आफ्नो निर्वाचन क्षेत्रमा भने स्वीकृत नगरिएको भन्दै प्रदेश सांसद रेग्मीले बिरोध गरेका छन् । उनले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले राजनैतिक पुर्वग्राही भएर यस्तो काम गरेको आरोप समेत लगाए । उनले मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेदेखी नेकपा विभाजनको अवस्थामा आएपछि आफु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा लागेकै कारण आफुसंग प्रतिशोध साध्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा योजना स्वीकृत नगरेको आरोप लगाए ।
भौतिक पुर्वाधार विकास मन्त्रालयले आयोजना छनोट गरेर नदिएका कारण स्वीकृत नगरेको हो भन्ने प्रश्नमा सांसद रेग्मीले आफुले तीन वटा आयोजना छनोट गरेर मन्त्रालयमा बुझाएको बताए । उनले धरमपोखरा–बेस्तडा, गुराँसे पातिकाँला र सान्तडा–रातामाटा जुनिचाँदे सडक आयोजना मध्ये एक आयोजना स्वीकृतीका लागि भनेको भए पनि राजनीतिक पुर्वाग्राही रोखेको बताए ।
भौतिक पुर्वाधार विकास मन्त्रालय महातत रहेको पुर्वाधार विकास कार्यालय दैलेखका प्रमुख बालदिप शर्माले सबै क्षेत्रका लागि आयोजना पठाएको भएपनि निर्वाचन क्षेत्रको १ (क) मा भने किन स्वीकृत भएन भन्ने विषयमा आफु जानकारी नभएको बताए । उनले प्रदेश सांसदको नेतृत्वमा रहेको समतिले योजना छनौट गर्ने र मन्त्रालयबाट स्वीकृत हुने हुँदा आफुहरुलाई जानकारी नभएको बताएका हुन् । निर्वाचन क्षेत्र न. १ (क) स्थानीले भने प्रदेश सरकारले सांसद कुनै पक्षमा लागेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा बजेट बिनियोजिन नगरेको भन्दै आपत्ती प्रकट गरेका छन ।
प्रदेश सभा सदस्य रेग्मीले सामाजिक सञ्जालमा लेखेको स्टाटस यस्तो छ
राजनीतिक मतभिन्नता भएपछि कर्णाली प्रदेश सरकारले एउटा निर्वाचन क्षेत्रमा एउटा बहु–वर्षिय आयोजनाको निर्माण गर्ने निति विपरित म प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र दैलेख १(क) लाई बाहेक गरि जिल्लाको अन्य क्षेत्रको ठेक्का अगाडि बढाएछ । राजनीतिक विचारको आधारमा विकास बाड्ने प्रदेश सरकारको पुर्बाग्रही कार्यको म भत्सर्ना गर्दछु । साथै म प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रमा प्रदेश सरकारका अर्थ र भौतिक मन्त्री प्रवेश गरेमा हाम्रा मतदाताले तपाईहरुलाई प्रश्न गर्नेनै छन् र म सभाको आगामी बैठकमा प्रस्तुत विषय उठाउने नै छु ।






