मदिरा नियन्त्रणमा प्रहरीलाई यूवाको साथ
कृष्णप्रसाद अधिकारी
दैलेख ः भगवतीमाई गाउँपालिकाका यूवाहरु यति बेला मदिरा नियन्त्रणमा जुटेका छन् । लकडाउनको समयमा समेत उनिहरु गाउँमा हुने घरेलु हिंसा तथा मदिराको कारणले हुने अपराधका घटना कम गर्ने अभियानमा जुटेका छन् ।
बुधबार भगवतीमाई यूवा क्लब र प्रहरी कार्यालय बेस्तडाको सयूक्त पहलमा गाउँमा अवैध रुपमा राखि बिक्री वितरण गरिरहेको मदिरा तथा मदिरा जन्य बस्तु नियन्त्रणमा लिई नस्ट गरिएको छ ।
सोमबार र मंगलबार प्रहरी चौकी बेस्तडाबाट खटिएको टोलिले करिब १ सय ३० लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो । जसमा वेस्तडा बजारबाट जाजरकोट लिदै गरिएको ४२ पेटी लिच्ची गाडीबाटै नियन्त्रणमा लिएको जनाइएको छ । त्यस्तै २ पेटी डाइमन ३ सय लिटर कच्चा पदार्थ र ६ थान मदिरा बनाउन प्रयोग गरिने भाँडा बरामद गरिएको प्रहरी चौकी बेस्तडाका इन्चार्ज जितबहादुर खड्काले बताए । नियन्त्रण लिएको मदिरा जन्य बस्तु गाउँपालिकाको रोहवरमा नष्ट गरिएको हो ।
गाउँपालिकाको सहकार्यमा मदिरा नियन्त्रण गर्दा सहज भएको भगवतीमाई यूवा क्लवका अध्यक्ष दिपेन्द्र रेग्मीले बताए । उनका अनुसार गाउँपालिकाले गाउँपालिका भित्र मदिरा सेवन समेत गर्न नपाउने ब्यवस्था गरेपछि यहाँका केही व्यापारीहरुले लुकीछिपी मदिरा बनाउने तथा विक्रि बितरण गर्ने गरेको सुचनाका आधारमा यूवा क्लबको सक्रियतामा मदिरा नियन्त्रण तथा नष्ट गरिएको छ ।




