मध्यपहाडी राजमार्गमा कामको प्रगतीबारे अन्तक्रिया
दैलेख : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मध्यपहाडी राजमार्गको दैलेख खण्डमा भइरहेको कामको प्रगति बारे सरोकारवालासंग अन्तरक्रिया गरेको छ । समितिका सभापति कल्याणीकुमारी बस्नेत, सदस्यहरु टेकबहादुर बस्नेत, यज्ञराज सुनुवार, बिनाकुमारी श्रेष्ठ र संसद सचिवालय शाखा अधिकृत दीपाकुमारी दुलाल समेतको टोलीले स्थानीयसंग अन्तरक्रिया गर्नुभएको हो ।
जाजरकोटको सुवाछेडादेखि अछामको भेलतडीसम्म एक सय २५ किलोमीटर दूरीमा आठ खण्डमा चालु आर्थिक वर्षमा झण्डै ५ अर्ब रुपैंयाँको लागतमा सडक र दुई वटा पुलको निर्माण काम चरिहेको र त्यस मध्ये हाल १९ किलोमीटर मात्र कालोपत्रे भएको मध्यपहाडी राजमार्ग आयोजनाका प्रमुख इञ्जिनियर अर्जुनकुमार बमले बताए ।
लोहोरे हुँदै खोलीबजार जोड्ने सदरमुकाम खण्डमा स्थानीयले सडक खुलाउन अवरोध गरेको कारण ढिला भएको तर अहिले सहमति भइसकेपछि काम सुरु भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले जानकारी दिए ।
खुला अन्तरक्रियामा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापा, पत्रकारद्वय अमर सुनार र भूपेन्द्र शाहीले मध्यपहाडी राजमार्गले जिल्लाको सडक सञ्जाल बिस्तारमा सघाएको, रोजगारीका अवसरहरु सिर्जना गरेको बताउदै भुक्तानी ढिलाईले मजदूरहरुले नियमित ज्याला पाउन कठिनाई भएको उल्लेख गरेका थिए ।