Loading... आजः २०८२, ८ बैशाख सोमबार

सिँचाइ नहरले किसान हर्षित

दैलेख । जिल्लाको ठाटिकाँध गाउँपालिकाका किसानहरू सिँचाइ नहर बनेपछि हर्षित भएका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष असर किसानहरूमा पर्ने गरेको छ । जलवायु परिवर्तन भएको कारण अधिकांश किसानहरूले आफ्नो किसानी नै छोड्दै आएका धेरै उदारणहरू छन् । पहाडी भूभागमा यसले अझै धेरै प्रभाव पार्ने गर्छ ।

बर्सातमा धेरै पानी पर्ने र हिउँदको समयमा पानी नपर्नुले किसानमा निराशा छाएको अवस्थामा गाउँमा सिँचाइ गर्नका लागि बनाएको नहरले ठाटिकाँध गाउँपालिकाका किसानहरूमा हर्ष छाएको हो । धेरैजसो खेतबारीमा पानी नहुँदा धानको बिउसमेत राख्न समस्या हुन्थ्यो सिँचाइका लागि नहर बनेपछि ठाटिकाँध गाउँपालिका–६ स्थानीयका वासिन्दा हर्षित भएका छन् ।

सिँचाइको अभावले खेतीयोग्य भूमिबाट आम्दानी लिन नसकेका यहाँ बासिन्दालाई नहर निर्माणले हर्षित बनाएको छ । अधेरी खोलाको पानीले यहाँको करिब २० हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ गर्छ । कृषि विकास कार्यालय दैलेखको दैलेखको ८ लाख ५० हजार (८५ प्रतिशत) जनश्रमदान १ लाख ५० हजार (१५ प्रतिशत) गरी यस वर्ष जम्मा १० लाख रुपैयाँ लागतमा ४ सय २५ मिटर लम्बाइ तथा ३० सेन्टिमिटर चौडाइ र ३० सेन्टिमिटर उचाइ भएको पक्की नहर बनेको अधेरी खोला सिँचाइ कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्वजबहादुर शाहीले बताए ।

उनले भने अनुसार ठाटिकाँध गाउँपालिका–६ को धेरै किसानको जग्गामा सिँचाइ सुविधा पुग्ने गरी निर्माण गरिएको यो नहरले यस क्षेत्रका १ सय ५० घरधुरीका करिब १ हजार २ सय जना किसान लाभान्वित हुन्छन् । सिँचाइका लागि बीचबीचका शाखाबाट पानी वितरण हुने प्रणाली नहरमा राखिएको छ ।

उपभोक्ता समितिमार्फत बन्ने आयोजनाले धान, गहुँ तथा तरकारी सिँचाइका लागि आवश्यक पर्ने पानीको अत्यधिक आवश्यकतालाई परिपूर्ति गर्न सहयोग हुने विश्वासका साथ काम भइरहेको स्थानीयले जानकारी गराए ।

यहाँका किसानहरू आकाशे पानीको भरमा रोपाइँ गर्ने गरेको बेला कृषि विकास कार्यालय दैलेखले किसानको समस्यालाई मध्ये नजर गर्दै यो सिँचाइ कुलो निर्माण गरेको छ, सिँचाइ नहर बनेपछि यहाँका किसान हर्षित देखिएका छन् । आयोजनामा अनुगमनमा पुगेका कृषि विकास कार्यालयका फिल्ड प्राविधिक तिलक पाण्डेले आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।

facebook sharing buttonShare
twitter sharing buttonTweet