Loading... आजः २०७८, ५ असार शनिबार

दैलेखमा निषेधाज्ञा १० दिन लम्बियाे

दैलेख ः दैलेखमा १० दिन निषेधाज्ञा लम्बिएको छ । यस अघि दैलेख जिल्लाभर लागु हुने गरी जेठ ११ गतेसम्मलागि निषेधाज्ञा जारी भएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि दैलेखमा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय प्रशासनले तेस्रो पटक म्याद थप गरेको हो । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाको बेला बैंकहरु विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै खुल्ने भएका छन् । बैंकहरुले स्वास्थ्य सम्वन्धी मापदण्डको पुर्ण पालना गर्दै २ घण्टा सेवा दिने छन् । बैंकमा सेवाग्राही र कर्मचारीबीच दूरी कायम राख्ने, मास्क प्रयोग गरि जनस्वास्थ्यका मापदण्ड पुरा गर्नुपर्ने छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले दोस्रो पटक जारी गरेको निषेधाज्ञामा धार्मीक कार्यमा समेत कडाई गरेको छ । जिल्लाभर हुने विवाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्यहरुमा स्थानीय प्रशासनले कडाई गरेको हो । विवाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्य गर्नका लागि जिल्ला प्रशासन कार्यालय दैलेखबाट पूर्व स्वीकृत लिई बढिमा १० जना मात्रै हुन सहभागि हुने पाइनेछ ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहार मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसलहरु जनस्वास्थ्यका मापदण्ड अपनाई विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यस्तै एग्रोभेट सेवा, कोभिड–१९ आइसोलेसन व्यवस्थापन लगाएतका सेवाहरु सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । सार्वजनिक निर्माण कार्यहरु निर्माणस्थलमै रहेर सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ । प्रशासनले गोष्ठि, सभा, सम्मेलन, समारोह, विद्यालय, कलेज, तालिम, जिमखाना, ब्यूटिपार्लर, सैलुन, वित्तिय संस्था, गैरसरकारी संस्था, मनोरञ्जनात्मक गतिविधी, मन्दिर चर्च, धार्मीक अनुष्ठानमा गरिने पुजाआजा ध्यान र अनावश्यक हिँडडुलमा पूर्ण रोक लगाएको छ ।

प्रशासनले निषेधाज्ञाको समयमा सवारी साधन सञ्चालनमा समेत कडाई गरेको छ । निषेधाज्ञाको समयमा एम्बुलेन्स, दमकल, शववाहन, झण्डावाल सरकारी र निलो प्लेटका सवारी साधन सञ्चालनमा रहने जनाएको छ । यस्तै अत्यावश्यक दैनिक उपभोग्य पशु कृषिजन्य बस्तुहरु दुवानी गर्ने सवारी साधनहरु चालक र सहचालक मात्र रहने गरी सञ्चालन गर्न पाइनेछ । परिचयपत्र र पोषाक सहितका अत्यावश्यक सेवामा खटिएका जनशक्तिले प्रयोग गर्ने सवारी साधन, सूचना विभाग र सञ्चार गृहबाट प्रेस पास परिचय पत्र प्राप्त सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालनमा रहनेछन् । सरकारी सवारी साधन सञ्चालनमा समेत प्रशासनले कडाई गरेको छ ।
प्रशासनले सबै प्रकारका निजी र सार्वजनिक यातायातहर बस, हाइस, माइक्रोबस, जीप, अटोरिक्सा, मोटरसाइकल, स्कुटर, भारत र अन्य जिल्ला हुँदै आयात हुने तरकारी फलफूल र सबै प्रकारका मदिराजन्य सामग्री ढुवानी गर्ने सवारी साधनहरुमा पूर्ण रुपमा रोक लगाईएको छ ।

रोक नलगाईएका सेवा कार्यहरुको सञ्चालन तथा सवारी साधनहरुको प्रयोगमा पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्नुपर्नेछ । जिल्लाभर दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, फलफूल, तरकारी, ग्याँसका पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना हुनेगरी विहान ६ बजेदेखी साढे ८ बजेसम्म मात्र सञ्चालन पाइने प्रशासनले जनाएको छ ।


सम्बन्धित समाचार