प्रतिनिधिसभा विघटनविरुद्ध रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा हुने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरका लागि आदेश माग गर्दै परेको १९ वटा रिटको सुनुवाइका लागि राणाको एकल इजलासमा पेशी तोकिएको हो ।
देउवालाई प्रतिनिधिसभाका बहुमत सांसद्को समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति नगरेको रिटमा परमादेशमार्फत शपथको बाटो खुला गर्न माग गरिएको छ ।
सर्वोच्चका अनुसार बिहीबार १९ वटा रिटमाथि सुनुवाइ हुनेछ । यस्तै, शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुनेछ जुन संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिट हुन् ।
विपक्षी गठबन्धन ५ दलका १ सय ४६ जना सांसदसहित कांग्रेस सभापति शेर बहादुर देउवा पनि रिट लिएर सर्वोच्चमा पुगेका थिए ।
देउवालाई १ सय ४९ सांसद्ले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरे पनि दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकेकी थिइन् ।




