सभामुखद्धारा सदन बोलाउने संकेत
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सदन बोलाउने संकेत गरेका छन्। बिहीबार संविधानविद् र कानुनविद्हरुसँगको परामर्शपछि उनले जनताले प्रदान गरेको सार्वभौम अधिकार आवश्यकता पर्दा प्रयोग गर्नुपर्ने धारणा राखेका हुन्।
छलफलका क्रममा कतिपयले उनलाई सक्रियता देखाउन र राष्ट्रपतिलाई प्रतिनिधि सभाको अधिवेशन आह्वानको लागि सिफारिस गर्न सुझाव दिएका थिए।
‘तपाईंहरुले भनेको कुरामा म पूर्णरुपमा सहमत छु। संविधान र प्रतिनिधि सभा नियमावली अनुसार नै मैले चल्नुपर्छ। नेपाली जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पिएका छन्। संघीय संसद्को नेतृत्वको हैसियतले, प्रतिनिधि सभाको सभामुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ। आवश्यक पर्दा देश, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले जनताले प्रदान गरेको निहित अधिकार फेरि पनि आवश्यक पर्दा प्रयोग गर्नुपर्छ’, सभामुख सापकोटाले भने।
सापकोटाले संविधान राष्ट्रका लागि भएकाले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर कदम निर्णय लिनुपर्ने बताए। ‘त्यसलाई व्याख्या, प्रयोग र अभ्यास गर्दाखेर हामीले राष्ट्रिय हित, संविधानको रक्षा, लोकतन्त्रको विकास/विस्तार र सुदृढीकरणलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ’, उनले भने।
उनले देश र जनताको अधिकतम हितभन्दा बाहेक दायाँबायाँ अधिकार कसैलाई नहुने बताए। ‘त्यसैले देश र जनताको अधिकतम हित गर्न संविधानको मर्म र भावनालाई आत्मसात् गर्नेगरी काम गर्न तयार छु’, उनले भने, ‘जनताकै म्यान्डेट अनुसार गर्छु।‘ -नेपाल लाइभबाट




