नेपाल बहुल राष्ट्रिय राज्य नै हो : उपप्रधानमन्त्री महतो
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन्।
शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैँ उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराई र मधेशको जनताको सहभागिता हुनुपर्ने बताए।
बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उनले उल्लेख गरे। बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उनले बताए। ‘नेपाल विविधताले भरिएको देश हो। विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तिस जातको फुलबारी भनेको विविधता हो। बहुलता भनेको त्यही हो। त्यसैले बहुल राष्ट्रिय राज्य हो। नेपाल भनको बहुल राष्ट्रिय राज्य भएकाले त्यहाँ त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेशका जनताको हुनुपर्छ,’ उनले भने।
उनले विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै नसक्ने बताए।
‘बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन। बहुलता भनेको सबै हो। त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ। पहिचान हुनुपर्छ। यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छ,’ उनले भने। नेपाल न्युजबाट




