मुलुकका ७५ जिल्लामा निषेधाज्ञाको समीक्षा गर्दै गृह
काठमाडौं । गृह मन्त्रालयले मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञाको समीक्षा थालेको छ । गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समेत छलफल गरेका छन् ।
हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको गृहको निष्कर्ष छ । तर अब एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो गर्दै लैजानुपर्ने अधिकारीहरुको भनाइ छ ।
तत्काललाई उत्पादन र कृषि क्षेत्र, पाठ्यपुस्तक ढुवानी जस्ता कार्यमा समस्या देखिएको उनले बताए । दाहालले भने, ‘स्वास्थ्य मन्त्रालयसँग पनि राय लिन्छौं, त्यसपछि निषेधाज्ञाबारे थप निर्णय हुन्छ ।’
मृत्युदर र संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउँदै जाने विषयमा स्वास्थ्य मन्त्रालयको पनि विमति नरहने गृहको बुझाइ छ ।
उपत्यकामा जोर-विजोरको तयारी
काठमाडौं उपत्यकामा चाहिँ जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउने विषयमा छलफल भइरहेको छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने अधिकारीहरुको भनाइ छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली भन्छन्, ‘यो मसान्तसम्म त निषेधाज्ञा जारी नै छ, त्यसपछि थप हुँदा चाहिँ अन्य केही क्षेत्र खोल्ने विषयमा छलफल भइरहेको छ ।’ यद्यपि, त्यसका लागि स्वास्थ्य मन्त्रालयको पनि राय लिने उनको भनाइ छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने बताउँछन् ।
