शिक्षा मन्त्रीले जातीय विभेदको आरोपितलाई आफ्नै गाडीमा लिफ्ट दिएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराउनुभएको छ ।
जातीय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई अबदेखि त्यस्तो गल्ती नगर्न सचेत गराउनुभएको हो ।
कानुन मन्त्री लीलानाथ श्रेष्ठले मङ्गलवार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वयम् प्रहरी कार्यालय पुगेको र आफ्नै गाडीमा चढाएर लगेको प्रसङ्ग उल्लेख गर्दै कानुन कार्यान्वयनमा सन्देह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभएको हो ।उहाँले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भनी टिप्पणी गर्नुभयो । उज्यालोबाट





