दैलेखमा गहुँ उत्पादन ८ दशमलव ५२ प्रतिशतले घट्यो
दैलेख ः दैलेखमा यस बर्ष गहुँ उत्पादनमा कमी आएको छ । जिल्लामा उत्पादन हुने गहुँमा यसबर्ष ८ दशमलव ५२ प्रतिशतले घटेको हो ।
दैलेखका ११ वटै स्थानीय तहमा गहुँ बाली लगाइन्छ । हिउँदमा गहुँ उत्पादन हुने, यहाँ धेरै ठाउँमा आकाशे पानीको भरमा बाली लगाउने भएकाले यस बर्ष समयमै पानी परेन समयमै पानी नपर्दा किसानले लगाएको गहँु उम्रिन नै पाएन, उम्रेको गहुँ पाक्ने समय सम्ममा पनि पानी नपरेकाले यसबर्ष गहुँ उत्पादनमा कमी आएको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले बताए ।
उनका अनुसार–“जिल्लाका सबै ठाउँमा गहुँ बाली लगाइन्छ । गत बर्ष हिउँदको समयमा पानी परेकोले गहुँ उत्पादनमा केही बृद्धि भए पनि यो बर्ष गत बर्षको भन्दा ८ दशमलव ५२ प्रतिशतले उत्पादनमा कमी आएको छ ।”
कृषि विकास कार्यालय दैलेखले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा जिल्ला भर १३ हजार ६ सय पैतालिस हेक्टर क्षेत्रफमा लगाएको गहुँको उत्पादन १४ हजार ९ सय ८९ मेट्रिक टन भएको थियो । यस बर्ष जिल्लामा १३ हजार ६ सय ४६ हेक्टर क्षेत्रफलमा लगाएको गहुँबाट १३ हजार ७ सय १२ मेट्रिक टन मात्र उत्पादन भएको छ । यो गत बर्षको भन्दा ८ दशमलव ५२ प्रतिशतले कमी भएको पाण्डेले पञ्चकोशी खबर दैनिकसंग बताए ।
कोरोना भाइरसले गतबर्ष जस्तै यो वर्ष पनि समस्या सिर्जना गरेको छ । यसको संक्रमणले विश्वनै आक्रान्त छ । जिल्लामा यसको संक्रमण दर बृद्धि भएको भन्दै नियन्त्रणको लागि बैसाख २१ गते देखि जिल्लामा निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञाका कारण भोकमारी सम्मेत पर्ने अवस्था आएको छ । जिल्लामा हुने विकास निर्मा तथा सार्वजनिक कार्यक्रमहरु ठप्प छन् यहाँका नागरिकहरु कामको सिलसिलामा भारत जाने र आफ्नो परिवारको लालन पालनको लागि उतैबाट ज्याला मज्दुरी गरेर दशै तिहार खर्चको गुजरा गर्ने गर्छन । यो बर्षको महामारीले ज्याला मज्जुरी गरेर बिहान साँझ छाक टार्ने नागरिकको छाक नै कोरोनाले खासिदिएको छ । एकातिर उत्पादन कमी हुनु अर्को तिर कोरोनाको महामारीले ज्याला मज्दुरी सम्मेत खोसेको कारण खाध्य संकट पर्न सक्ने यहाँका स्थानीयले बताउने गरेका छन् ।