Loading... आजः २०७८, १० श्रावण आईतवार

मध्यपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक बर्खास्त

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ तर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक विश्वनाथ यादवलाई विश्वविद्यालयले बर्खास्त गरेको छ।आज विश्वविद्यालयले कानून संकायमा अनियमितता तथा कारवाही सम्बन्धी भर्चुअल मार्फत पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बर्खास्त गरिएको बताए ।

उपकुलपति सिंहले भने, ‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उप-प्राध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको छ। प्रयोगात्मक कक्षा नै सञ्चालन नगरी मनलाग्दी अंक दिएर विद्यार्थी उत्तीर्ण गराएको पाइएपछि विश्वविद्यालयले कारबाही गरेको हो।’

यस अघि परीक्षामा भएको अनियमितता छानबिन गर्न प्रा.डा.दीपबहादुर रावलको नेतृत्वमा समिति गठन गरिएको थियो। निर्देशक उप–प्राध्यापक यादवले विश्वविद्यालयको शैक्षिक मर्यादामा आँच आउने गरी शैक्षिक अपराध गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ।