Loading... आजः २०७८, १० श्रावण आईतवार

कर्णालीमा बजेट कार्यान्वयनका लागि भन्दै माओवादीले बनायो ७ वटा संयोजन समिति

सुर्खेत ः  नेकपा माओवादीको केन्द्रको कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारको बजेटलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्न भन्दै ७ वटा विषयगत संयोजन समिति निर्माण गरेको छ । विकास निर्माणसँग सम्बन्धित विषय लगायत प्रदेश सरकारलाई सुझाव दिने उद्देश्यले संयोजन समिति निर्माण गरिएको माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

आइतबार र सोमबार बसेको माओवादी संसदीय दलको बैठकले उक्त निर्णय गरेको विष्टले बताए । उनका अनुसार पूर्वाधार; मुख्यमन्त्री रोजगार; दलित, महिला, लक्षित वर्ग समुदाय; अल्पसङ्ख्यक, लोपोन्मुख सीमान्तकृत, विपन्न वर्ग समुदाय; राउटे समुदाय; बजेट अद्यावधिक र कोरोना महामारी गरेर सात वटा शीर्षकमा संयोजन समिति बनाइएको हो । यद्यपि, तिनमा संयोजक भने तोकिएको छैन ।

‘केही दिनमै कुन विषयको जिम्मा कुन सांसदलाई दिने भन्नेबारेमा निर्णय हुँदैछ,’ विष्टले भने । जिम्मेवारी तोकिएपछि यी समितिहरूले आफ्ना गतिविधि सञ्चालन गर्ने उनको भनाइ छ । विष्टले भने, ‘यी समितिले शीर्षक अन्तर्गत पर्ने हरेक पक्षका बारेमा प्रदेश सरकारलाई सुझाव दिनेछन् । सोही सुझावका आधारमा कामलाई प्रभावकारी बनाउन सकिन्छ कि भन्ने हाम्रो प्रयास हो ।’

प्रदेश सरकारले प्रत्येक आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न सकिरहेको छैन । विष्टले आर्थिक वर्ष ०७८/०७९ का लागि अध्यादेशमार्फत बजेट ल्याउनु अस्वाभाविक जस्तो देखिए पनि प्रतिपक्षको निरन्तर अवरोधका कारण अध्यादेश भन्दा अर्को विकल्प नभएको बताए ।  राताेपाटीबाट