कर्णालीमा बढ्दै कोरोना : ७७ जना डिस्चार्ज हुँदा ८४ थपिए
सुर्खेत ः कर्णालीमा पछिल्लो केही दिनदेखि लगातार कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको ग्राफ उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७७ जनाले कोरोना जितेर डिस्चार्ज हुँदा ८४ जना संक्रमित थपिएका छन् । असार महिना सुरु भएसँगै डिस्चार्ज हुनेको संख्या धेरै र संक्रमित थपिनेको संख्यामा कमी हुँदै आएको थियो । तर, निषेधाज्ञा खुकुलो पारेसँगै साउन महिनाको सुरुवात देखिनै डिस्चार्ज हुनेको संख्यामा कमी र संक्रमित थपिने क्रम बढ्दो छ ।
जस अन्तरगत शनिबार पनि संक्रमित बढेका छन् । शुक्रबार ७० जनामा कोरोना संक्रमण देखिएको प्रदेशमा शनिबार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ५६ जना र १०२ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३० हजार २७४ पुगेको छ । शनिबार सबैभन्दा बढी जुम्ला जिल्लामा २४ जनामा कोरोना देखिएको छ । यस्तै सुर्खेतमा २२, रुकुमपश्चिममा १७, मुगुमा ८, कालिकोटमा ५, हुम्लामा ३, दैलेखमा २ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।








