Loading... आजः २०८०, ८ मंसिर शुक्रबार

जाजरकोट जुनीचाँदेका वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटे

जाजरकोट जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेका छन् । वडाध्यक्ष नेपालीले स्थानीय प्रेम दमाईमाथि कुटपिट गरेका हुन् ।

सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेका हुन् ।

युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो राख्दै वडाध्यक्षमाथि कारबाहीको माग गरिएको छ ।

जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले कानुनी राज्यको खिल्ली उडाउँदै कानुनलाई हातमा लिएर गरिब नागरिकका छोराछोरीमाथि कुटपिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने बताइन् ।

वडा अध्यक्षले ती युवकमाथि किन कुटपिट गरेका हुन् खुल्न सकेको छैन । वडा अध्यक्ष नेपालीसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

वडाध्यक्ष नेपालीले योभन्दा पहिला गाउँपालिका स्वास्थ्य सहसंयोजक यज्ञश्ववर बस्नेतलाई पनि कुटेका थिए ।