विद्यालय खुलेसंगै जिल्लामा चहलपहल बढ्यो
दैलेख : पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । संक्रमणको दर घट्दै जाँदा स्थानीय गतिविधि बढेका छन् । लामो समय घरमा थुनिएर बस्न बाध्य जनता र स्कुल जान नपाएका विद्यार्थी खुसी भएका छन् । उनीहरू फेरी पनि पहिलाको जस्तै घरमा थुनिएर बस्न नपरे हुन्थ्यो भन्दै छन् । बाहिर खुसी देखिए पनि कोरोना त्रासले भने मान्छेलाई छोड्न सकेको छैन । कुनै समय दैलेख कोरोना रेड जोनमा परेको थियो । विस्तारै जिल्लामा कोरोना संक्रमित हुनेको संख्यामा गिरावट आएको छ । कोरोना महामारीलाई नियन्त्रण गर्न दैलेखका सम्पूर्ण सम्यन्त्रले आआफ्नो ठाउँबाट पहल गरेको कारण अहिले जिल्लामा कोरोना संक्रिमितको संख्या घट्दै गएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक थिरप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार दैलेखका काम गरिरहेका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले पनि कोरोना नियन्त्रणका लागि आपूmले सकेको पहल गरिरहेका छन् । जिल्लामा क्रियाशील सोसेक नेपाल, एभरेस्ट क्लब, कारितास नेपाल लागायतका संघसंस्थाहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अस्पताललाई करोडांैको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । उनीहरूले अस्पताललाई दिएको सहयोग अतुलनीय छ । जिल्लामा विपत् पर्दा कुनै पनि आग्रह पूर्वाग्रह नभई विपतको सामना गर्नपर्ने रेग्मीले बताए । यस्ता समस्या समाजमा रहेका सबैको साझा भएकोले हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
मंगलबार अस्पताललाई २६ लाखको स्वास्थ्य सामग्री :
कोभिड–१९ को प्रतिकार्यका लागि दैलेख अस्पताललाई मंगलबार २६ लाख मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कारितास नेपालले २६ लाख ३२ हजार ६ सय रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो । कारितास नेपाल क्षेत्रीय कार्यालय कोहलपुर बाँकेका क्षेत्रीय संयोजक जनकप्रसाद शर्माका अनुसार अस्पताललाई २० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ३४ थान पल्स अक्सिमिटर, ४ सय ५० थान पिपिई सेट, ५ सय १५ बक्स सर्जिकल मास्क, सय बक्स सर्जिकल ग्लोब्स र २ सय १० वटा ह्यान्डसेनिटाइजर सहयोग गरिएको हो ।
उक्त सामग्री हस्तान्तरणमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मी, दैलेख अस्पतालका डा. जगत थापा लगायतको उपस्थिति थियो । कारितास नेपालले दैलेख अस्पतालमा आपतकालीन अवस्थामा कोभिड–१९ को उपचारमा आउने बिरामीहरूलाई आपतकालीन सेवा प्रदान गर्न तीन जना स्वयंसेवकहरू खटाएको क्षेत्रीय संयोजक शर्माले जानकारी दिए । उनका अनुसार स्वयंसेवकहरूबाट २ सय ३० जनाभन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष रूपमा मनोसामाजिक परामर्श लगायतका सेवा प्राप्त गरिसकेका छन् ।
उक्त सेवालाई थप प्रभावकारी बनाउन हेल्पलाइन नम्बर ९८०१५७३०३१ सञ्चालन गरिने क्षेत्रीय संयोजक शर्माले बताए । उनका अनुसार स्वयंसेवकहरूले कोभिड–१९ बाट प्रभावित र अति जोखिममा परेका व्यक्ति तथा परिवारहरूलाई एक जना बराबर २ हजार २ सयका दरले ४ सय ८२ जनालाई १२ लाख २५ हजार ४ सय ८५ रुपैयाँ बराबरको आइसोलेसन किट उपलब्ध गराइनेछ । करिब ३० वर्षदेखि नेपालका ५० बढी जिल्लामा कल्याणकारी सेवा प्रवाह गर्दै आएको संस्थाले हाल दैलेखसहित नेपालका १४ वटा जिल्लाहरूमा नेपाल कोभिड–१९ प्रतिकार्य परियोजना सञ्चालन गरेको छ ।
सञ्चालनमा आए दैलेखका विद्यालय :
कोरोना संक्रमणका कारण पठनपाठन बन्द रहेका दैलेखका विद्यालय सञ्चालमा आएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनमा आउन थालेका हुन् । जिल्लाको नारायण नगरपालिकाले विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिसकेको छ । नगरपालिकाले साउन २२ गतेदेखि नै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएको हो । भगवतीमाई गाउँपालिकाले भदौ १ देखि सामुदायिक तथा निजी विद्यालयहरू सञ्चालनमा ल्याउन लागिरहेको जानकारी दिएको छ । गाउँपालिका भित्रका ३२ सामुदायिक विद्यालय एक संस्थागत विद्यालय गरी जम्मा ३३ विद्यालय १ भदौदेखि सञ्चालन गर्ने लागिएको शिक्षा विज्ञान तथा प्रविधि शाखा संयोजक मानबहादुर विकले बताए । विद्यालयमा मास्कको प्रयोग अनिवार्य गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको नारायण नगरपालिका शिक्षा शाखा संयोजक हिमालयजंग शाहले बताए । लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको उनले जानकारी दिए । उनले भने, ‘पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याएका छौँ । विद्यार्थीहरूलाई स्वास्थ्य सामग्रीहरू मास्क सेनिटाइजर व्यवस्थापन गर्नका लागि हरेक विद्यार्थीलाई दुई सय रुपैयाँका दरले विद्यालयलाई रकम उपलब्ध गराएका छौँ ।’ स्वास्थ्य सावधानी अपनाएर एउटा बेच्चमा दुई जना विद्यार्थी राखेर पठनपाठन सुरु गरेको नारायण नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालय तर्ताङका सहायक प्रधानाध्यापक लोकेन्द्र जिसीले बताए । उनले भने, ‘शिक्षण गर्दा भौतिक दुरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी कक्षामा पठनपाठन सञ्चालन गरिएको छ ।’ लामो समयसम्म विद्यालय बन्द भई घरमै रहेका विद्यार्थीहरू विद्यालय सञ्चालन हुँदा खुसी भएको जिसीले बताए ।
जिल्लामा विद्यालयसँगै एक महिना लामो चल्ने वर्षेमेलाको रौनक पनि देखिन थालेको छ । महामारीको समयमा सुनसान भएको सदरमुकाममा अहिले चहलपहल बढेको छ । सबै कार्यालयहरू खुलेका छन् । होटल तथा पसल ब्यवसायहरू साँझ ६ बजेसम्म खुल्ला रहने गरी जिल्ला प्रशासनले नियम बनाएको छ ।
जिल्लामा आइतबारसम्ममा कोरोनाको स्थिति :
जिल्लामा हालसम्म ३ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये ३ हजार ४ सय ३७ जना निको भएका छन् स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आइतबारसम्म कोरोना संक्रमणका कारण २९ जनाले ज्यान गुमाइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ३२ जना छ । अहिले दैलेख अस्पतालको आइसोलेसनमा आठ जना उपचाररत छन् ।
लामो समयसम्म सुनासान देखिएका विद्यालय र कार्यलयहरू खुल्दा दैलेखमा मान्छेको चहलपहल देखिएको छ । यद्यपि कोरोना भाइरस पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले सबैले सावधानी अपनाउनुपर्नेमा स्थानीय प्रशासनले सचेत गराएको छ । कोरोनाले कसैलाई नछोड्ने भएकाले आफ्नो बारेमा आफैँ सचेत हुन प्रशासनले आग्रह गरेको छ ।









