‘माधव नेपाल बाहिरिँदैमा एमाले समाप्त हुँदैन’
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालले दल विभाजन गरेर अपराधपूर्ण काम गरेको टिप्पणी गरेका छन् । माधव नेपालको नेतृत्वमा बुधबार नेपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पोखरेलले नेता नेपालबाट कम्युनिस्ट आन्दोलनमा कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन,– ‘हाम्रो गौरवशाली पार्टी (नेकपा एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको छ । दुःखका साथ भन्नुपर्दैछ –यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ ।’
पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसबीच भएका अनगिन्ती प्रयासका बाबजुद एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने काम भएको उनको भनाइ छ ।
‘यसबीच पार्टीभित्रको एकतालाई कायम राख्न पटक पटक अपिल गरिएको छ । माधव नेपाल लगायत केही साथीहरूसँग यसबीच म आफैले पनि पटक पटक कुराकानी गरेको छु । छलफल गरेको छु । तर ती सबै निरर्थक बने,’ उनी भन्छन् ।
माधव नेपालले अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने पार्टी विभाजन गरेको पोखरेलको गम्भीर आरोप छ । उनले भने, ‘एमालेका नेता , कार्यकर्ता, शुभेच्छुकहरूको चाहना अनुसार पार्टीलाई एक ढिक्का बनाउन यसबीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम गरिएको छ ।’
एमाले पार्टीबाट कोही बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने पोखरेलले बताए । ‘फुटको विगत हामी सबैले देखेका– भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा एमालेका सम्पूर्ण नेता , कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु,’ उनको आग्रह छ ।
एमाले पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पवद्ध रहेको भन्दै दृढताका साथ अघि बढिरहने पोखरेलले बताए।





