कर्णाली सरकारको ‘प्रत्येक घर स्वरोजगार’ कार्यक्रममाथि काठमाडौंमा छलफल
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ल्याएको ‘प्रत्येक घर स्वरोजगार’ कार्यक्रमको बारेमा बिहीबार काठमाडौँमा वृहत छलफल भएको छ । कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा कार्यक्रम कार्यान्वयनको विषयमा रहेर बैँकका सिईओहरुसँग छलफल गरिएको आर्थिक मामिला मन्त्री गोपाल शर्माले जानकारी दिए ।
कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले कर्णालीको विकास परिवर्तन नभएसम्म राष्ट्रको गरिबी अन्त्य नहुने टिप्पणी गरेका थिए । उनले भने ,‘प्रदेश सरकारले ल्याएको यो कार्यक्रम प्रदेशको गरिवीलाई घटाउने खालको कार्यक्रम हो । यसले कर्णालीको मात्र नभई देशको प्रतिनिधित्व पनि गर्ने देखिन्छ । यस्ता खालका कार्यक्रमहरुमा लगानी आवश्यक हुन्छ ।’
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका उपकार्यकारी निर्देशक समता पन्त, एनएमबी बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, प्राइम कमर्सियल बैंकका संचालक गजेन्द्र विष्ट, मेगा बैंकका एसएमई कर्जा प्रमुख जनक भट्टराई, ग्लोबल आइएमई बैंकका सुरेन्द्र रेग्मी, नबिल बैंकका लीला प्रसाद ओझा लगायतले कर्णाली सरकाले ल्याएको कार्यक्रमको प्रशंशा गरेको कर्णालीका अर्थ मन्त्री शर्माले जानकारी दिए ।
उनले भने ,‘ उहाँहरुले प्रदेश सरकारबाट कर्जा सुरक्षणको सुनिश्चितता र भौतिक पूर्वाधार उपलब्ध भएमा लगानी गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ।’








