कांग्रेस उपसभापति निधिले पनि खोले सम्पर्क कार्यालय
काठमाडौँ: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय सञ्चालन गरेका छन् ।
कांग्रेसको १४ औं महाविधेशनमा सभापतिको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका निधिले काठमाडौँको नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा शुक्रबार सम्पर्क कार्यालय खोलेका हुन् ।
कार्यालयको उद्घाटनमा कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताहरु उपस्थित थिए । देउवा निकट भनेर चिनिँदै आएका निधिले बानेश्वर बैंक्वेटको सिंगो भवनलाई नै सम्पर्क कार्यालयको रुपमा प्रयोग गरेका हुन्।
निधिको सम्पर्क कार्यालय उद्घाटनको क्रममा विभिन्न मन्दिरका मुख्य पूजारी र धर्मगुरुहरुलाई बोलाएर हिन्दू धार्मिक संस्कार अनुसार विधि समेत सम्पन्न गरेका थिए ।
देउवाका विश्वासपात्र मानिएका निधिले देउवाले सभापतिमा नलड्न आग्रह गरिरहँदा पनि सभापतिको उम्मेदवारी दिने घोषणा गरेर सम्पर्क कार्यालय खोलेका हुन् । कांग्रेसको वडा अधिवेशन भदौ १८ र महाधिवेशन मंसिरमा सुरु हुँदैछ ।
सभापति पदमै उम्मेदवारी दिने भनिएका कृष्ण सिटौलाले पनि यसअघि नै गौशालामा सम्पर्क कार्यालय खोलिसकेका छन् । यस्तै महामन्त्री डा. शशांक कोइरालाले महाराजगञ्जमा, वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा, प्रकाशमान सिंहले बानेश्वरमा र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले अनामनगर र विशालनगरमा यसअघि नै सम्पर्क कार्यालय खोलिसकेका छन् ।








