Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

चौतारीमा वर, कोरोनाको डर, के रमाइलो छ र !

नेपालगन्ज : नेपाल लगायत विश्वजगत नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा छ।

अझ यसो भनौं, कोरोनाको अधिक पीडा नेपालले यतिबेला खेपिरहेको छ। दिनानुदिन कोरोना संक्रमित हुनेहरुको संख्या बढेको बढ्यै छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बिस्तारै उकालो लाग्ने क्रममा छ। उसो त संक्रमितहरु निको भएर घर फर्केका पनि छन् ।

यहीँ कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न नेपालमा गत चैत्र ११ गतेदेखि हालका दिनसम्म लकडाउन जारी छ। यो लकडाउनमा कोरोनाबाट सुरक्षीत रहन अधिकांश मानिसहरू गाउँ फर्किएका कारण यतिबेला धेरै मानिसहरू गाउँमै छन् ।

गाउँघर यो समयमा भरिभराउ छ। प्रायजसो कुनै विशेष चाडपर्वमा मात्रै भरिभराउ हुने गाउँ , यतिबेला कोरोना अनि लकडाउनका कारण भरिभराउ छ। तर पनि गाउँघर शून्य छ, सुनसान छ। अझ भनौं, मानिसविहिन जस्तै छ। कारण हो, कोरोना ।

धेरैजसो मानिसहरू गाउँमै भएपनि उनीहरू आफ्नो घर बाहेक अरुको घरमा जाँदैनन् । आफ्नै खेत बारीमा लकडाउनको समयलाई सदुपयोग गरिरहेका छन् । कसरी हुन्छ कोरोनाबाट बच्नु पर्छ भन्ने मानसिकताको बिकास भैसकेको छ, मानिसहरूमा । एक अर्काको घरमा जाने त टाढाको कुरा हो, एक अर्कालाई छुन समेत डराउने अबस्थामा छन् ।

गाउँघरको विशेषता शहर भन्दा छुट्टै अनि नितान्त फरक छ। मनोरम चौतारी, चौतारीमा लगाइएका वर अनि पिपल गाउँघरको प्राचीन विशेषता हो।

गर्मीको यो समय त अझ चौतारीको शितल छहारीमा बस्ने समय हो। गाउँघरमा बनाइएका चौतारीहरुमा मानिसहरू सितल हावा खाइरहेको दृश्य देखिने समय हो यो। तर कोरोनाको कारण चौतारीसम्म जान सकिरहेका छैनन् मानिसहरू ।

चौतारीहरु पनि कतिखेर मानिसहरूको आगमन होला र मानिसहरुको सामीप्यतामा बस्न पाइएला भन्ने पर्खाइमा रहेका छन। गाइने दाइ, बाटो हिड्ने बटुवा अनि मेलापात गर्ने मानिसहरूको सधैजसो साथ पाइराख्ने चौतारीहरु यतिबेला एक्लो छन, नितान्त सुनसान बनेका छन् ।

श्रिङ्गार बेगरकी महिला जस्तै, पर्खाइमा सालौ बितेका यादहरु जस्तै नितान्त उजाड छ चौतारी । वर अनि पिपलका पातहरुले ओछ्यान बनेका छन् चौतारीमा। गाउँ घरमा रहेका चौतारीका यस्तो दृश्य देख्दा लाग्छ, चौतारीहरु स्नान अनि सरसफाइको प्रतिक्षामा छन् ।

तस्तै, यतिबेला चौतारीका वर अनि पिपलले आफ्नो प्रेम स्पर्शसहितको चिसो हावा मानिसहरूलाई चखाउन पाएका छैनन् । यस्तो विषम परिस्थितिमा गाउँघरमा भएका मानिसहरूले सोच्दा हुन् , चौतारीमा वर , कोरोना डर, के रमाइलो छ र ! उसो उस्तै भाका बोल्दै होलान् चौतारी र त्यहाँ रहेका वर र पिपल पनि उस्तै उदेक मान्दै । -नागरिक समाज

समाचार