Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

६८ जिल्लामा फैलियाे काेराेना संक्रमण, कुन जिल्लामा कति संक्रमित थपिए

काठमाडाैँ ः पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्ममा ६८ जिल्लामा कोरोना संक्रमण फेलिएकाे छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सुर्खेत पञ्चपुरीका २८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण २२ गते नै मृत्यु भएको  बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आई १४ दिन सम्म स्थानीय क्वारेन्टाइनमा बसी घर फर्किएका पुरुषको मृत्यु भएको बताउनुभयो ।

उहाँले क्वारेन्टाइनमा आरडिटी परीक्षण गरी पोजेटिभ देखिएपछि घर पठाइएको तर घर पुगेकै दिन मृत्यु भएकोले पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटीभ पाइएको बताउनुभयो । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ८, झापाका १ र मोरङका ६ गरी कुल १५ जनाको संक्रमण फेला परेको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाचीका १ जना, नवलपरासीका १ जना रहेका छन् । (दैनिकी बाट)

समाचार